सफल व्यावसायी ज्योति के. सी. को उम्मेद्वारी घोषणा

-प्रकाश सुवेदी

विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यावसायी ज्योति के.सी.ले आउँदै गरेको एनआरएनए जापानको अधिवेशन (२०२३-२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिएका छन् । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका ज्योतिले सन् (२०१७-२०१९ ) मा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कियुस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गरेका थिए ।

सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने रक्तदान कार्यक्रममा पनि उनको राम्रो योगदान छ । उनले लायन्स क्लव  अन्तर्गतकै निकै महत्वपूर्ण मानिने Progressive Melvin Jones Fellow र T U Blood Transfusion & Research Center मा समेत ठूलो रकम डोनेशन गरेका थिए । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्यक्रम सम्पादकको रूपमा काम गरेका ज्योति के.सी. आफ्नै जीवनसाथीको सल्लाहमा १ दशक अगाडि विधार्थी भिसामा जापान पुगेका थिए ।

मदाने गाउँपालिका भनभने गुल्मीमा जन्मिएका ज्योति जापान पुगेर निर्धारित अध्ययन पश्चात् आफ्नै रेष्टुरेण्ट व्यावसायमा होमिएका थिए । के.सी. कम्पनी प्रा. लि. का सिइओ ज्योतिका हाल फुकुओका वरपर १० ओटा रेष्टुरेण्ट र केही मार्टहरु सञ्चालनमा छन् । ज्योति केसी अहिले जापानको फुकुओका शहरको निकै चर्चित र जापानभरि परिचित नाम हो । व्यावसायिक तथा सामाजिक क्षेत्रमा उदाउँदा ज्योतिले जापानका अलावा नेपाल र भारतमा समेत आफ्नो व्यावसाय बिस्तार गरेका छन् । अत्यन्तै मृदुभाषी, सहयोगी, उदार र प्रभावशाली व्यक्तित्व ज्योतिका वैयक्तिक विशेषता हुन् ।

कुनै नेपाली सांस्कृतिक कार्यक्रम होस् या कोही नेपालीलाई कष्ट पर्दा होस् उनी सक्रीय रूपमा लाग्दछन् । आफ्नो अगाडि पर्ने जो कसैलाई पनि सकारात्मक प्रभाव पार्न सक्ने ज्योतिले विगतमा लगभग ५ वर्ष जति नेपालमा भिडिओ सम्पादकका रूपमा काम गरेका थिए भने उनको नेपाली सिने जगतका धेरै कलाकार र गायक गायिकाहरुसँग निकट सम्बन्ध रहेको छ । अधिकांश गायक कलाकारहरु फुकुओका पुग्दा सक्दो स्वागत र सत्कार गर्ने ज्योतिमा परि आउँदा सिङ्गो एनआरएनए जापान हाँक्न सक्ने खुबी छ ।