जापानका रविन शेरचनले गरे आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा


गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘सक्षम नेतृत्व एक ढिक्का एनआरएनए’ भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यावसायी शेरचनले उम्मेदवारी घोषणा गरेका हुन् । विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं शुभचिन्तकको आग्रहमा आईसिसीमा जाँदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केही मात्रामा भए पनि राम्रो गर्न सकिने हुँदा नेतृत्वमा बसेर नै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भूमिका खेल्न आफूले उम्मेद्वारी दिएको बताए । लामो समय जापानमा ब्यावसाय र समाजसेवामा सक्रीय शेरचन जापानमा रहेका नेपालीहरु बिच सरल र सहयोगी व्यक्तित्वका रूपमा चिनिन्छन् ।

को हुन् रविन शेरचन ?
सन् १९९८ मा अध्ययनका सिलसिलामा जापान प्रवेश गरेका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल तथा रेष्टुरेण्ट व्यावसायमा स्थापित नाम हो । दुई दशक भन्दा लामो कडा मेहेनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यावसायीका रूपमा उनले परिचय बनाएका छन् । विगत दुई दशक यता जापानमा सङ्घ-संस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्राकृतिक बिपत्तिमा आर्थिक सहयोग गर्न, आपत बिपदमा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न प्रमुख सहयोगी दाताका रूपमा समेत रविन शेरचनलाई सबैले पहिलो सूचिमा राख्ने गर्दछन् ।

समग्रमा भन्नुपर्दा उनी जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने र सशक्त बनाउने ब्यक्ति तथा सबैको प्रेरणाका स्रोत हुन् । सङ्घ-संस्था हुन् वा आपत-बिपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरे पनि संस्थागत छवि उचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कँदै आएको बताए । अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होईन आफै सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभूति भएपछि एनआरएनए आईसिसिको उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको शेरचनको भनाई छ ।

गैर आवासीय नेपाली सङ्घ जापानका सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यमा रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । उनले आईसिसि सदस्य पछि आईसिसि उपाध्यक्षमा उम्मेद्वारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएकोले आफूले तयारी गरेको बताए । नेपाल र जापानमा व्यावसायमा लगानी गरिरहेका शेरचनले जापानमा नेपाली, जापानी, ईटालियन एवं इन्टर कन्टपनेन्टल रेष्टुरेन्ट संचालन गरिरहेका छन् । हाल शेरचनले आफ्नो कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) आईसिसिको आगामी अधिवेशन अक्टोबरमा नेपालमा हुँदैछ ।