पाँचौं ‘सगरमाथा म्युजिक अवार्ड २०८०’ को आवेदन खुल्यो


‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०’ को लागि आवेदन फारम खुला भएको छ l ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डको पाँचौं संस्करणको लागि आवेदन खुल्ला भएको कुरा आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने यस अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप र सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ ।

अवार्डमा २०७९ बैशाखदेखि चैत्र मसान्त सम्म बजारमा आएका गीत सङ्गीतले सहभागिता जनाउन सक्ने कुरा कार्यक्रम आयोजक समितिका प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरीले दिएको नम्बर र भोटको आधारमा अवार्ड विजेता छनोटको अन्तिम निर्णय हुने कुरा अवार्ड संयोजक मनोज थापाले बताएका छन् ।

‘सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप विधामा देशभरका कलाकर्मीहरु सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीत-सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ भने गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सङ्गीतकर्मीलाई ‘विशेष सम्मान’ र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने कुरा आयोजक संस्था अर्थ नेपाल प्रा.लि.ले जनाएको छ । त्यस्तै समारोहमा एकजना अग्रज रङ्ग पत्रकारलाई नगद सहित ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट प्राप्त गर्न सकिने कुरा आयोजकले बताएका छन् ।