प्रतिष्ठित गीतकार दुर्गालाल श्रेष्ठ रू. १ लाख ५१ हजार सहित सम्मानित

-तुलसी गिरी ‘भावुक’

प्रतिष्ठित गीतकार दुर्गालाल श्रेष्ठ ‘अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार सङ्घ नेपाल-२०७९’ बाट सम्मानित भएका छन् । सङ्घको १४ औं स्थापना दिवसका अवसरमा जमलस्थित राष्ट्रिय नाचघरमा आईतबार आयोजित समारोहमा गीतकार श्रेष्ठलाई सो सम्मानबाट विभूषित गरिएको हो l नेपाली र नेवारी दुबै भाषाका गीतमा उत्तिकै प्रखर अग्रज गीतकार श्रेष्ठलाई ‘अमर-भावना गीतकार अक्षय कोषका संरक्षक अमर वान्तु, समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, सङ्घका अध्यक्ष एवं समारोहका सभापति वसन्त बित्यासी थापा, वरिष्ठ गीतकार एवं पूर्व मन्त्री एस्पी कोईराला लगायतले संयुक्त रुपमा नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए l सङ्घले हरेक वर्ष स्थापना दिवसका अवसरमा एकजना अग्रज गीतकारमा  यो सम्मान अर्पण गर्दै आएको छ l  

  समारोहमा राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई नगद रू.१५ हजार र ताम्रपत्र सहित दोसल्ला ओढाएर ‘गीतकार विशेष सम्मान २०७९’ बाट सम्मानित गरियो भने विदेशमा बसी नेपाली गीत लेखनमा उल्लेख्य योगदान पुर्याए बापत अमेरिकाको ओहायो बसोबास गर्दै आएका गीतकार खेम रिजाललाई नगद रु.१५ हजार र प्रमाणपत्र सहित दोसल्ला ओढाएर ‘डायस्पोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल २०७९’ प्रदान गरियो l यसैगरी यस वर्षको ‘विष्णु-मन्सरा घले मातृभाषा गीतकार सम्मान गीतकार सङ्घ नेपाल २०७९’ बाट लिम्बू भाषाका गीतकार भगत सुब्बा लाजेसा याक्थुङ्बा रू.२५ हजार २ सय ५२ र प्रमाणपत्र सहित सम्मानित भएका छन् ।

सङ्घले आफ्ना सदस्य गीतकारहरु माझ प्रतिस्पर्धा गराई उत्कृष्टताको आधारमा प्रदान गर्दै आएको ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल-२०७९’ बाट उमेश लम्सालको ‘एकमुठी  सास’ र सन्जिव पारदर्शीको ‘भुइँ सोरी ढोगें है’ जनही २८ हजार ५ सय  रुपैया सहित संयुक्त रुपमा पुरस्कृत भएका छन् । ‘भैरवनाथ रिमाल कदम स्मृति अक्षय कोष’का संरक्षक अभिषेक रिमालको हातवाट वर्षगीत पुरस्कारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी गीति पुस्तक ‘‘यला यला’ बाट गीतकार गंगाराज मुकारुङले नगद रू.५७ हजार र प्रमाणपत्र सहित ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ प्राप्त गरेका छन् । ‘जगतमर्दन थापा स्मृति अक्षय कोष’का संरक्षक मोहितमर्दन थापाले सो पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए l

समारोहमा सङ्घका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य दिएका थिए भने सम्मानित गीतकार विश्व बल्लभ, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, पूर्व अध्यक्ष एवं सल्लाहकार चूडामणि देवकोटा,सङ्घका संस्थापक अध्यक्ष कृष्णहरि बराल, पूर्व अर्थमन्त्री एवं सल्लाहकार एस्पी कोइराला आदिले शुभकामना मन्तव्य राखेका थिए l ‘गीत’ विधालाई ओझेलमा पारिएको भन्दै ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ को नाम संशोधन गरी ‘गीत’ समेत राख्नका लागि सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटाले दिएको सुझावमा मन्त्री किराँतीले ‘म छँदै छु, गरौँ न त’ भनेका थिए l    

समारोहमा गीतकार देवान चाम्लिङ, कवयित्री तथा गीतकार उषा सेरचन, लोकप्रिय गायिका तारा थापा, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल, सङ्घका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, प्रतिष्ठित सङ्गीतकार शक्ति वल्लभ, प्रतिष्ठित  सङ्गीतकार राजु सिंह आदि लगायत गीत-सङ्गीत र साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।