टोकियोमा सन्देशमूलक चलचित्र ‘सिग्नेचर’ प्रदर्शन              


सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘सिग्नेचर’ जापानको टोकियोभित्र पर्ने शिन ओकोवुमा रहेको सोलमारी मुरा हलमा प्रदर्शन भएको जानकारी प्राप्त भएको छ । प्राप्त समाचार अनुसार न्यू आईटिभेन्चर, एनआरएनए जापान र कास्की पोखरा समाज जापान सह आयोजक रहेको सो कार्यक्रममा मिडिया पार्टनरको रूपमा नेपाल जापान डट कम, निश्पक्ष न्यूज र जापान समाचार डट कम रहेका थिए भने सहयोगी संस्थाको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टर रहेको थियो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष मोहन घले र कोषाध्यक्ष आनन्द कोइराला, कास्की पोखरा जापानका अध्यक्ष सन्देश अधिकारी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, जन सम्पर्क समिति, जापानका  कोषाध्यक्ष बाबुराम सापकोटा सहित विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।   

नेपाली युवा पिँढीमा देखिने नकारात्मक आचरण र आचरण अनुसारको क्रियाकलापले निम्त्याउने दुर्दशायुक्त परिणामलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको चलचित्र ‘सिग्नेचर’ साँच्चिकै समाज परिवर्तनको आधार बन्न सक्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रहेको थियो । 

                              निर्माता सुवेदीको सहभागितामा चलचित्रलाई जापानभरि प्रदर्शन गर्ने सिलसिलामा यस भन्दा अगाडि यामागुची केन र ओसाकामा प्रदर्शन गरिएको थियो ।  चलचित्र ओस्कार इन्टरनेशनल कलेज, स्कुल फाउण्डेशन र सभ्य सृजना प्रालिका अध्यक्ष समेत रहेका लेखक तथा निर्देशक सागर उद्गमको परिकल्पना, लेखन/निर्देशनमा तयार भएको हो । चलचित्रमा चर्चित कलाकारहरु सन्दीप क्षेत्री, विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, प्रज्ञा जोशी, सरिता गिरी, जे. बि. डि.सी., सुमिना घिमिरे, अमृता थपलिया लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका छन् ।                

स्वास्थ्य मन्त्रालय अन्तर्गत एनसिएएस्सी अवार्ड अफ एक्सिलेन्स प्राप्त  यस चलचित्रलाई नेपाल सरकारका विभिन्न आठ ओटा मन्त्रालय सहित नेपाल रेडक्रस सोसाइटी, युएनएआडी लगायतका सङ्घ संस्थाले अक्नलेज्मेण्ट तथा नैतिक समर्थन  गरेको कुरा चलचित्रका निर्माता प्रकाश सुवेदीले बताएका छन् ।

SUBSCRIBE 👉