जापानको फुकुओकामा `प्रकाश दुतराज म्युजिकल नाइट´

-प्रकाश सुवेदी, जापान
(गीतकार तथा चलचित्रकर्मी)

चैत्र ४, जापानको फुकुओका शहरको चियोमा रहेको पापीलन २४ ग्यास हलमा प्रकाश दुतराज म्युजिकल नाइट भव्य रूपमा सम्पन्न भएको छ । अनाथ तथा गरिव बालबालिकाहरुको सहयोगार्थ फुकुओकामा सम्पन्न भएको सो कार्यक्रम नाङ्लो घरले आयोजना गरेको हो । समाजसेवी तथा व्यावसायी रमेश कुँवरको अध्यक्षता एवं हाम्रो नेपाल हामी नेपाली का संयोजक धर्मराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम अनिता सुनार र रोवन थापा मगरले सञ्चालान गरेका थिए ।

करिव २ सय ५० जना प्रवाशी नेपाली र बालबालिकाहरु सहभागी रहेको सो कार्यक्रम अत्यन्तै उत्साहवर्धक रुपमा सम्पन्न भएको थियो । यस अगाडि टोकियोमा सम्पन्न भएको यो कार्यक्रम जापानका मुख्य मुख्य शहरका लागि पनि तय भएको कुरा थाहा भएको छ । विगत ४/५ वर्षदेखि गीत-सङ्गीत क्षेत्रमा नयाँ स्वाद र मौलिकपन सहित उदाएका गायक दुतराज गीत-सङ्गीत र अभिनयका राम्रो प्याकेज हुन् । अत्यन्तै सरल शब्दलाई कलात्मक तरिकाले संयोजन गरेर गाउने दुतराजका घर कता हो बहिनीको, बहिनी झ्यालैमा, जाम भो माहिली रेलैमा, देउरालीमा लगायतका गीतहरु चर्चामा छन् ।

आफ्ना सृजना र स्वभाव दुवै सरल भएका प्रकाशको माग अहिले देश विदेशका कार्यक्रममा निकै रहेको छ । कोही पनि मान्छे जब आफू हुर्किएको परिवेशबाट बाहिरिन्छ अनि उसलाई आफ्नोपन, सामिप्यता र आफन्तको अभाव खड्किरहेको हुन्छ । यस्ता अभावलाई विदेशमा हुने यस्ता कार्यक्रमले केही भए पनि पूर्ति गर्ने गर्दछन् । आफ्नो देशबाट जति टाढा भयो त्यति नै देश, भेष, भाषा र संस्कृतिप्रति लगाव रहन्छ भन्ने कुरा विदेशमा हुने कार्यक्रम र त्यहाँ देखिने सहभागिताको उत्साहले सहजै थाहा हुन्छ ।