फोटोग्राफर कमल श्रेष्ठलाई ‘प्रडक्ट फोटोग्राफर अफ द एअर’ अवार्ड  


युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड’ पाएका छन् । २९ सेप्टेम्बर २०२२ मा होटल अस्टोरिया, दुबईमा आयोजना गरिएको अवार्डले पत्रकारितादेखि फोटोग्राफीसम्म, आतिथ्यतादेखि अस्पताल र स्वास्थ्य सेवा व्यवस्थापन, फोटोग्राफीदेखि फेसनसम्म, शिक्षादेखि सामाजिक क्षेत्रमा पेशाकर्मीको निरन्तर यात्रा, योगदान र उपलब्धिलाई सम्मान गरिएको थियो । युनिभर्सल पिस फेडेरेसनका सहअध्यक्ष र सोही क्षेत्रका शिक्षा निर्देशक डा रोबर्ट एस किट्टेल र इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस, एसिया प्यासिफिक रिजनका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली फोटोग्राफी क्षेत्रमा सन् १९९५ देखि नै फेसन तथा कमर्शियल फोटोग्राफरको रुपमा परिचय बनाउँदै अघि बढेका कमल श्रेष्ठ, फोटोग्राफरका रुपमा नेपालका धेरै राष्ट्रिय समाचार पत्रहरुदेखि मनोरञ्जनात्मक मासिक पत्रिका तथा विज्ञापन एजेन्सीहरुका लागि काम गरिसकेको अनुभवी नाम हो । सन् २०१८ देखि युएई, दुबईमा रहेका उनले विशेषत बिश्वका विभिन्न चर्चित लग्जरी ब्राण्डका घडी तथा ज्वलेरीसंगै अन्य लग्जरी प्रोडक्ट फोटोग्राफीमा पहिचान कमाएका छन् । डुकाटि, म्यक्लरेन, स्विस मिलिटरी,  पुलिस, टिम्बरल्याण्ड, सन्तोनोरी पेरिस, मिसल हर्ब्लिन, भर्सस, एगनर लगायत थुप्रै बिश्व चर्चित लग्जरी ब्राण्डहरुसँग उनले काम गरिरहेका छन् । फुड, लाइफस्टाइल, फेसन तथा पोट्र्रेट फोटोग्राफी पनि उनको विशेष रुचिका क्षेत्र हुन्।

इन्डोर तथा आउटडोरमा गुणस्तरीय तस्वीरहरु कैद गर्ने दुई दशक भन्दा लामो अनुभव बोकेका कमल श्रेष्ठ रचनात्मक, उच्च दक्ष, अनुभवी एवं व्यावसायिक फोटोग्राफर हुन् । लक्जरी उत्पादनका फोटोशुटका सार्थ फेसन, जीवनशैली  र पोट्रेट फोटोशुटमा उनको विशेष दख्खल र अनुभव रहेको छ । विज्ञापन, सामाजिक संजाल, अनलाइन क्याटलग, ईकमर्सियल साइट, म्यागाजिनदेखि प्रोफेसनल स्टुडियो शुटसम्ममा कमल श्रेष्ठको आफ्नै खालको विशेषता र विज्ञता छ ।

फोटोग्राफी बाहेक कमल श्रेष्ठले भिडिओ प्रोक्सन कम्पनी तथा विज्ञापन एजेन्सीसित पनि फ्रीलान्सर भिडियोग्राफर भएर चलचित्र, थुप्रै म्युजिक भिडिओ, टिभि विज्ञापन, टिभि कार्यक्रम, डकुमेन्ट्री आदिमा आफ्नो सीप, क्षमता र सृजनात्मकता प्रस्तुत गरिसकेका छन् । यस बाहेक उनले थुप्रै चिरपरिचित नेपाली गायक गायिकाको म्युजिक एल्बमको कभर डिजाइन र फोटोशुट पनि गरेका छन् । ग्राफिक डिजाइनरका रुपमा पनि कमलको राम्रो दख्खल र अनुभव छ ।

विश्वका विभिन्न भू भागमा रहेर आफ्नो उपलब्धी, निरन्तरता र योगदानबाट प्रंशनीय र उल्लेखनीय बन्न पुगेका विभिन्न क्षेत्रका व्यवसायिक व्यक्तित्वहरुलाई उनीहरुको उपलब्धीलाई कदर र सम्मान गर्ने हेतुले आयोजना गरिएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ भव्यतापूर्वक सम्पन्न भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यावसायिक व्यक्तिहरुलार्ई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा हाल युएईको दुबईमा कार्यरत नेपाली कमर्सियल फोटोग्राफर कमल श्रेष्ठलाई प्रोडक्ट फोटोग्राफी अवार्ड प्रदान गरिएको हो।

एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ कार्यक्रम सिजन मिडिया प्रालिले आयोजना गरेको थियो । यस अवार्डले पेशाकर्मीहरूको योगदान र दीर्घकालीन यात्रालाई मान्यता दिने र व्यक्तिबाट पेशेवरमा उनीहरूको रूपान्तरणको कथालाई उजागर गर्ने उद्देश्य राखेको छ ।