प्रेमको सुखानुभूतिमा डुबुल्की मार्दै गीतकार शान्ति

-प्रकाश सुवेदी

शान्ति शर्माको शब्द सृजनामा रहेको गीति भिडिओ `ढुकढुकी बसाइँ सर्दैछ´ शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट नेपाली साङ्गीतिक बजारमा सार्वजनिक भएको छ । चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरेको यस गजलमा राजु कार्कीको सङ्गीत संयोजन र बहुचर्चित गायक शिव परियारको स्वर रहेको छ । अकेष्टिक इन्टरनेशनल नेपाल, नक्सालमा स्वराङ्कन भएको यस गजलको मिक्सिङ र मास्टरिङ गर्ने काम सिद्धहस्त साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका हुन्।

SUBSCRIBE 👉

पछिल्लो समयका चर्चित कलाकार लक्ष्मि बर्देवा र जीवन भट्टराई अभिनित यस गजलको भिडिओमा गजलकी सर्जक शान्ति शर्माले समेत अभिनयमा साथ दिएकी छन् भने भिडिओमा तराईको बिपन्न परिवारमा जन्मिएकी युवती र मध्यम बर्गीय परिवारमा जन्मिएको युवकबीचको प्रेम सम्बन्ध र त्यहाँको जनजीवन दर्शाइएको छ । बुद्ध थापाको छायाङ्कन रहेको यस भिडिओमा विष्णु खड्काको सम्पादन र कलाकारद्वय लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको छ ।

लामो समय क्यान्सर रोगसँगको अत्यन्तै कठिन जुधाई पश्चात मनका भावना पोख्ने बहनामा विभिन्न साहित्यकारहरुको सङ्गत, प्रोत्साहन र साथले गजलकार बनेकी शान्तिले आफू क्यान्सरमुक्त भएपछि आशा जागेको र सोही आशाले दिलाएको मन्द मन्द सुखानुभावलाई सुस्तरी सुस्तरी गजल मार्फत पोखेको कुरा बताएकी छिन् ।