‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ प्रति सङ्गीतकर्मीहरुको आपत्ति


सुदूरपश्चिम प्रदेश सरकारले हालै पारित गरेको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ प्रति सो क्षेत्रकै अधिकांश सङ्गीतकर्मीहरुले आपत्ति जनाएका छन् l प्राप्त जानकारी अनुसार सुदूर क्षेत्रका विशिष्ठ सङ्गीतकर्मी नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी, यज्ञराज उपाध्याय, भोजराज भट्ट, लाल बहादुर थापा, राजाराम भाट, दीपेन्द्र प्रसाद दाहाल लगायत ४० भन्दा बढी सङ्गीतकर्मीहरुले सो ऐनप्रति आफूहरुको असहमति रहेको जनाउँदै ७ बुँदे माग सहित प्रदेश सरकारको कार्यालयमा ध्यानाकर्षणपत्र समेत बुझाएका छन् l

ऐनमा सङ्गीतकर्मीहरुको प्रतिष्ठानमा शैक्षिक योग्यता, उमेर हद, कार्यानुभव जस्ता प्रावधान राखिएको साथै  प्रतिष्ठानको सदस्य सचिवमा मन्त्रालयका कर्मचारी रहने एवं कुलपति र सहकुलपतिमा मुख्य मन्त्री र सामाजिक विकाश मन्त्री रहने व्यवस्था गरिएकोमा सङ्गीतकर्मीहरुले पञ्चायती व्यवस्थाकै झल्को आएको र आफूहरुको अपमान महसुस भएको कुरा ज्ञापनपत्रमा उल्लेख गरेका छन् l