विधान संशोधन सहित दुई संस्थाको स्थापना दिवस संयुक्त रुपमा सम्पन्न l


सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस र नेपाल सङ्गीत उद्योग सङ्घको २२ औं स्थापना दिवस एकसाथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा दुईवटै संस्थाका अध्यक्ष समेत रहेका सूर्य बहादुर मगरको अध्यक्षता रहेको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख एवं सहसचिव डा. सुरेश श्रेष्ठ, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रल्हाद पुडासैनी, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका निवर्तमान अध्यक्ष निर्मलराज ढकाल, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, निर्देशक शिव बि.क., मोडल एवं सङ्गीत व्यावसायी बाबुराम बोहरा, गायक/सर्जक रेशम सापकोटा, मोडल सम्झना बुढाथोकी, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा सीप बिकाश समितिका सभापति हेमराज ढकाल, कीर्तिपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष राज्यलक्ष्मी शाह लगायत कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल सङ्गीत उद्योग सङ्घका महासचिव सुनिल लामिछानेले सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए । कार्यक्रममा उपाध्यक्ष हुम गैरेले स्वागत मन्तव्य राखेका थिए । दुबै संस्थाको स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठद्वारा केक काटिएको थियो । सोही अवसरमा ‘दोस्रो ऐतिहासिक AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को घोषणा गरिएको थियो । अवार्डको फारम आजैबाट खुला गरिएको कुरा समारोहमा जानकारी गराईएको थियो l

यसैगरी समाजका संरक्षकद्वय भगवान कुमार श्रेष्ठ र शम्शेर श्रेष्ठलाई ‘बार्षिक सम्मान २०७९’ साथै तुलसी गिरी ‘भावुक’ र तुलसी बास्कोटालाई सङ्गीत पत्रकारिता सम्मान २०७९ बाट सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न श्रस्टा तथा निर्माताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गीत सङ्गीत तथा चलचित्रका निर्माताहरुलाई रोयल्टी समेत वितरण गरिएको थियो ।

समारोहमा ‘सङ्गीत तथा चलचित्र उत्पादक समाजक’ को विधानको दफा-२ को (ज) मा रहेको ‘श्रव्य तथा श्रव्यदृश्य साङ्गीतिक सामग्री’ भन्नाले विभिन्न प्रविधिबाट तयार भएको सामग्री जुन कुनै पनि यन्त्र वा उपकरणको सहायताले सुन्न र हेर्न सकिने गीत वा गीतिनाटक वा रचनाको प्रस्तुतिलाई अङ्कन गरी तयार पारिएको सामग्री समेतलाई जनाउने छ l’ भन्ने वाक्यांशमा ‘चलचित्र’ भन्ने शब्द थप्ने प्रस्तावलाई सभाले पारित गरेको छ भने सभाले कार्यसमितिलाई सर्वसम्मतबाट विभिन्न अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरुसँग रोयल्टी सम्बन्धी सम्झौता गर्ने र परिस्थिति वा आवश्यकता अनुसार रोयल्टीको दर हेरफेर गर्न सक्ने अख्तियारी समेत दिएको छ l छिट्टै विश्वव्यापी डिजिटल प्लेटफर्म युट्युबसँग मेकानिकल राइट्स अन्तर्गत रोयल्टी सम्बन्धी सम्झौता हुने र क्रमशः अन्य डिजिटल प्लेटफर्महरुसँग पनि सम्झौता गर्ने तयारी भईरहेको कुरा सङ्गीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्य बहादुर मगरले सभालाई जानकारी गराएका छन् l सभाले ‘सङ्गीत तथा चलचित्र उत्पादक समाज’ का कोषाध्यक्ष मेघराज मगरातीको प्रस्तुत गरेको आ. ब. २०७८-०७९ सम्मको आर्थिक प्रतिवेदन समेत पास गरेको छ l