सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने ।
मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवर्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताए । सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने पनि उनले बताए ।
अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ l राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ’ उनले भनिन् l ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनुपर्ने भन्दै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताइन् ।
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो त्यसैगरी सीमाको मुद्दामा पनि सबैजना एकजुट हुनुपर्छ l यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ’ उनले भने l अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा, रोमियन लिम्बू लगायतको मुख्य भूमिका छ । फिल्म चाँडै प्रदर्शनको तयारीमा रहेको छ । फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको छ । खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका छन् ।