शिखर सन्तोषको सङ्गीतमा पवनदीप र अरुनिताले पहिलोपटक नेपाली गीत गाए l

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय सङ्गीतकार शिखर सन्तोषको सङ्गीतमा इण्डियन आइडल विजेता पवनदीपले एकल र युगल गरी २ वटा नेपाली गीतमा पहिलोपटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारी र गीतकार एस. पी. सापकोटाको शब्दमा रहेका दुई नेपाली गीतमा  स्वर दिएका हुन् । युगल गीतमा पवनदीपलाई अरुनिताले स्वरमा साथ दिएकी छिन् l गायिका अरुनिताको पनि यो पहिलो नेपाली गीत भएको कुरा थाहा भएको छ l दुबै गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको सङ्गीतकार शिखर सन्तोषले जानकारी गराए ।

दुबै गीत केहीदिन अघि मुम्बईमा रेकर्ड गरिएको हो । गीतको बारेमा भने थप कुरा खुलाईएको छैन । गीत नेपाली बजारलाई ध्यानमा राखेर तयार गरिएको कुरा सङ्गीतकार सन्तोषले बताएका छन् ।

एकल र युगल स्वरका दुबै गीतले नेपाली साङ्गीतिक  बजारमा राम्रो चर्चा पाउने अपेक्षा सङ्गीतकार सन्तोषको रहेको छ l लामो समय अघिदेखि मुम्बैमा बसेर सङ्गीतकर्ममा क्रियाशील रहँदै आएका सङ्गीतकार शिखर सन्तोषले विगतमा भारतकी प्रख्यात गायिका लता मङ्गेस्कर र नेपाली लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा नेपाली गीत ‘बाँचुञ्जेलीलाई’ मुम्बैमै रेकर्ड गराएका थिए । जुन गीतले सङ्गीत बजारमा ठूलो लोकप्रियता हासिल गरेको थियो l लता जस्ती युगजयी गायिकासँग गीत गाउने अवसर मिलेको कुरालाई गायक ढकालले आफ्नो जीवनकालकै एउटा अविश्मरणीय संयोगको रुपमा लिएका छन् l  

सङ्गीत तथा चलचित्रसँग सम्बन्धित विभिन्न कामको सिलसिलामा मुम्बै पुग्ने गरेका नेपाली सर्जक / कलाकारहरुको सारथिको रुपमा समेत परिचित सङ्गीतकार शिखर सन्तोषले समय समयमा नेपालमा आएर पनि गीत रेकर्ड गराउउँदै आएका छन् l

   

SUBSCRIBE 👉