‘वर्ल्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली सगरमाथा जाँदै



विश्व कीर्तिमानी समाजको आयोजनामा सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा हुन लागेको ‘वर्ल्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार शिविरतर्फ जाने भएको छ । जलवायु परिवर्तनले पारेको असर र न्यूनीकरण सम्बन्धी बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना हुन लागेको कुरा थाहा भएको छ ।

त्रिभूवन विश्वविद्यालय र अमेरिकाको कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयका वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो ।

मङ्गलबार काठमाडौं आइपुगेका दुईजना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गरेका थिए । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए ।

झण्डा हस्तान्तरण गर्दै यो अत्यन्तै सह्राहनीय कार्य भएको बताउँदै राज्यले गर्नुपर्ने कार्य यसरी अन्य सङ्घ संस्थाले गर्दा आफू अत्यन्तै खुशी भएको उपराष्ट्रपति पुनले बताए । ‘यो कार्यक्रमले विश्व समुदायलाई प्रभावकारी रुपमा सन्देश दिन्छ । यदि हामी जलवायु परिवर्तन सम्बन्धी विषयमा सचेत नहुने हो भने अबको केही पुस्ता बाहेक मानव सभ्यता नै सङ्कटमा पर्न सक्छ । ठूलो र शक्तिशाली देशहरूले धेरै कार्वन उत्सर्जन गरेको कारण समस्या आईरहेकोले यस विषयमा शक्ति राष्ट्रहरू नै बढी जिम्मेवार रहनुपर्छ’ उपराष्ट्रपति पुनले भने l अमेरिकी बैज्ञानिकहरूलाई आफ्नो विश्व विद्यालय मार्फत यस समस्याको न्यूनीकरणका लागि पहल गर्न समेत पुनले आग्रह गरेका छन् ।

शुक्रवार सामाजका अध्यक्षको नेतृत्वमा बैज्ञानिकहरु सहितको टिम लुक्ला हुँदै सगरमाथा आधार शिबिरसम्म पैदल यात्रा गरेर जाने छ । टोलीमा विश्वविद्यालयका बैज्ञानिकहरू सहित संस्थाका प्रतिनिधिहरू, वरिष्ठ साउण्ड ईञ्जिनियर, छायाकार लगायतको टिम कार्यक्रममा सहभागी रहने जनाइएको छ ।

सगरमाथा आधार शिबिरमा जेष्ठ १५ गते कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा त्रिभूवन विश्वविद्यालयको तर्फबाट प्रा.डा. शिक्षाध्यक्ष शिवलाल भुसालको नेतृत्वमा अनुसन्धान बिभागका निर्देशक प्रा.डा. उमेश मण्डल, डा. नारायणप्रसाद घिमिरे, डा. दिवस श्रेष्ठ, कोलोराडो स्टेट विश्वविद्यालयबाट प्रा.डा. जोयल बर्गर र कोलोराडो विश्वविद्यालय अमेरिकाबाट जोअन्ना ल्याम्बर्टको सहभागिता रहने छ ।

SUBSCRIBE 👉