प्रकाशको सृजनामा रूपाको पालिकागान


पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ-आफ्नो गाउँ-ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी आदि विषयहरुलाई गीति श्रव्य-दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ । यसै सिलसिलामा कास्कीको पोखरा महानगरपालिकासँगै जोडिएको प्राकृतिक रुपमा अति रमणीय रूपा गाउँपालिकाले पनि त्यस्तै विविधतागत विषयवस्तु बोकेको गीति भिडिओ यही फागुन २७ गते पालिकाको ५ औं स्थापना दिवशको अवसर पारेर भव्य समारोहकाबीच सार्वजनिक गरेको छ ।

रूपामै जन्मिएका चर्चित कलाकार माओत्से गरुङ र ओंमप्रकाश गुरुङ सहित रोहन आसिव, ममता अधिकारी र प्रियङ्का सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको यस भिडिओमा सर्जक प्रकाश सुवेदीको रचनात्मक निर्देशन, कुमार केसीको नृत्य निर्देशन, निसल पौडेल र पदमराज सुवेदीको छायाङ्कन, निशान घिमिरेको सम्पादन र महेन्द्र सुवेदीको भाषानुवादको भूमिका रहेको छ ।

यसभन्दा अगाडि नै दक्षिणकाली नगरपालिका र पनौती नगरपालिकाको परिचयात्मक गीत बनाएर प्रसिद्धि कमाईसकेका गीतकार प्रकाश सुवेदीको गहन अध्ययन र अनुसन्धानमा पालिकाभित्रका ७ वटै वडाहरुमा रहेका विविधतालाई ७ मिनेट १८ सेकेण्डभित्र समेटेर लेखिएको यस गीतमा लोकप्रिय सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र सिडी विजय अधिकारी, मेलिना राई, शिरीष देवकोटा, आर. सी. रिमाल र सङ्गीतकार स्वयंको स्वर रहेको छ भने गीतमा आञ्चलिकता र स्थानीय संस्कृति झल्काउन बिचबिचमा कास्कीको सेरोफेरोमा प्रचलित भजन र सोरठीको भाका समेत राखिएको छ ।

पालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रसाशकीय अधिकृत सन्तोष ढुङ्गाना सहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी समेत संलग्न रहेको गीति भिडिओमा शिक्षकहरु र स्थानीयलाई समेत समेटिएको छ । कास्कीका ८ ओटा ताल मध्ये तेस्रो ठूलो ताल रूपातालको नामबाट नामाकरण गरिएको रूपा गाउँपालिकाको गीतको अवधारणा पालिका अध्यक्ष स्वयं नवराज ओझाले तयार पारेका हुन् ।