-तुलसी गिरी ‘भावुक’
हृदयस्पर्शी भावका गीत मार्फत सङ्गीत क्षेत्रमा आफ्नो भिन्न र विशिष्ट स्थान बनाएका गायक / सङ्गीतकार मेलोडी सुल्तान शिशिर योगीले आफ्नो जन्म दिनको अवसर पारेर पुन: यथार्थपरक गम्भीर भावको गीत ‘बा’ को भिडिओ सार्वजनिक गरेका छन् l ‘आमा’को ममता, त्याग, सहनशीलता, पीडा र आफ्ना सन्ततिहरुप्रतिको अथाह समर्पण भावका गीत धेरै बनेका भएपनि तुलनात्मक रुपमा ‘बा’ का गीतहरु त्यति रेकर्ड नभईरहेको परिप्रेक्ष्यमा गायक / सङ्गीतकार योगीले यो गीतको भिडिओ बजारमा ल्याएका छन् l
गीतमा परिवारको लालनपालनका लागि छायामा परेका ‘बा’का भूमिकाहरुलाई पुन: स्मरण गराइएको छ l गीतले आफ्ना ईच्छा र रहरहरुको तिलाञ्जली दिएर सन्ततिको सुन्दर भविष्यको जिम्मेवारी काँधमा बोकी मुग्लान पसेका तमाम ‘बा’ हरुको कथा बोकेको छ l अनि आफ्नै घरदेशमा सन्तानको मुश्कानका खातिर हजारौं हण्डर र पीडा बोकेर कुदिरहेका ‘बा’ हरुको व्यथा पोखेको छ l गीतले सन्तानको लालनपालनका लागि ‘आमा’ र ‘बा’को भूमिका समानान्तर र परिपूरक हुन् भन्ने सन्देश दिएको छ l
कवि अर्जुन पराजुलीको शब्दरचनामा रहेको यो गीत गायक योगीकै सङ्गीतमा रेकर्ड भएको हो l जसमा बीबी अनुरागीको सङ्गीत संयोजन, गोविन्द अनेकको रेकर्डिङ र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको छ l
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको यस भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ भने सहायक सम्पादकको रुपमा लोकेश भाटले आफ्नो कौशलता देखाएका छन् l भिडिओमा गायक / सङ्गीतकार शिशिर योगी, बाल कलाकार सवल पन्त, मनोहर सुनाम, धर्म गन्धर्व र गोपालदेव घतानीले अभिनय गरेका छन् l