‘पूर्व विद्यार्थी समाज’ द्वारा पूर्व गुरुहरु सम्मानित


झापाको मेचीनगर, इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको सङ्गठन ‘पूर्व विद्यार्थी समाज’ ले एक कार्यक्रमको आयोजना गरी पूर्व शिक्षक/शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । गत शुक्रबार आयोजित सो सम्मान कार्यक्रममा पूर्व शिक्षक एवं शिक्षिकाहरु सूर्यप्रसाद शर्मा, चन्द्रकुमार भट्टराई, तुलसीराम पौडेल, कमलकुमार देवकोटा, पर्शुराम तिम्सिना, पारसचन्द्र उपाध्याय, झुमनाथ भट्टराई, बालकृष्ण विष्ट, हेमकुमार खड्का, रामप्रसाद ओझा, तुलसीप्रसाद घिमिरे, रुकमणि पौडेल, रुद्रकुमार प्रसाई, डम्मर बहादुर मगर, दैवकिशोर गिरी लगायत १८ जनालाई सम्मान गरिएको थियो l कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भट्टराईको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l

समारोहमा स्व. नाराणप्रसाद भट्टराई र स्व.कृष्णप्रसाद ओलीलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. भट्टराईको सम्मान छोरी स्मृति भट्टराईले र स्व.ओलीको सम्मान उनकै श्रीमती ईन्द्रमती ओलीले ग्रहण गरेका थिए l यसैगरी विद्यालयका कर्मचारी स्व.बमबहादुर कटुवाललाई पनि मरणोपरान्त सम्मान गरिएको थियो । सम्मानित शिक्षक / शिक्षिकाहरुलाई प्रशंसापत्रको साथमा  पूर्व विद्यार्थी चित्रकार केसाङ लामाले तयार पारेको शिक्षकहरुको मुहारचित्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमा कक्षा १ देखि १० सम्म पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थी तथा एसईईमा उत्कृष्ट भएका विद्यार्थी एवं मेचीनगर क्षेत्रमा रहेर शिक्षण पेशामा क्रियाशील र उत्कृट १ जना शिक्षिकालाई विद्यालयले नगद सहित पुरस्कृत गरेको थियो l जस अन्तर्गत मेचीनगर- २ स्थित कृष्ण आधारभूत विद्यालयकी शिक्षिका निर्मलादेवी भट्टराई नगद रू. १० हजार सहित ‘नारायण स्मृति पुरस्कार’ बाट पुरस्कृत भएकी थिईन् भने एसईईमा उत्कृट अङ्क ल्याउन सफल दुई जना विद्यार्थी पनि जनही नगद रू. ५ – ५ हजार सहित पुरस्कृत भएका थिए ।

विद्यालयले शैक्षिक पुरस्कार, अतिरिक्त क्रियाकलाप पुरस्कार, प्रचण्डमान स्मृति पुरस्कार तथा कृष्णप्यारी छात्रवृत्ति पुरस्कारबाट विद्यार्थीहरुलाई पुरस्कृत गरेको कुरा विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताएका छन् ।

कार्यक्रमकै अवसरमा पूर्व शिक्षक मोहन भेट्वालले स्थापना गरेको ‘महानन्द लक्ष्मी पुरस्कार’ को अक्षयकोषमा रू. २७ हजार रकम थप गरेको घोषणा गरेका छन् । रू. ५० हजार रहेको सो अक्षयकोषमा सो रकम थप भएको कुरा थाहा भएको छ  ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली लगायतले आ-आफ्ना भनाईहरु राखेका थिए ।

समारोहमा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्राज्ञ सदस्य शुभद्रा भट्टराई, नेपाल राष्ट्रिय शिक्षक सङ्घ झापाका सचिव लम्बोदर पौडेल, शिक्षक महासङ्घ झापाका सचिव तोयानाथ दाहाल, मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल, मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापा,
मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदम कार्की, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपाने, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मोहन काजी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम रमा भण्डारी र पर्शुराम पराजुलीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

सम्मान कार्यक्रम आयोजना गर्नुको उद्देश्य र कार्यक्रम सम्पन्न भएपछिको अनुभवका बारेमा आयोजक संस्थाका अध्यक्ष शंकर भट्टराई भन्छन् –’हामीले असल संस्कारको सुरुआत गर्ने जमर्को गरेका हौँ l यो कार्यक्रमले आउने पुस्ताका विद्यार्थीहरुमा पनि सकारात्मक सन्देश गएको हामीलाई महसुस भएको छ l उपस्थिति पनि हामीले सोचेको भन्दा धेरै उत्साहजनक रह्यो l फरक फरक पेशा र क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेकोले यो कार्यक्रम आयोजकको हिसाबले हामीलाई गौरवको अनुभूति भएको छ l यो सम्मानबाट हाम्रा गुरुहरु खुशी हुनुभयो l यस्ता कार्यक्रमहरुले आगामी दिनमा पनि निरन्तरता पाउने छन् भन्ने मैले अपेक्षा राखेको छु l’