भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि चौतर्फी विरोध

-डा. डी. आर. उपाध्याय


नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटेसम्म भारतको हेपाहा प्रवृत्ति कायम रहिरहने अबस्था देखियो । देशभक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ ।

राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन् । त्यसैगरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ । प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द गर्न माग पनि गरेको छ ।

राष्ट्रियताको कुरामा सबै राजनीतिक दल एकजुट हुनु जरुरी हुन्छ । लिपुलेक-लिम्पियाधुरामा हालैका दिनमा भारत सरकारले बनाइरहेको सडक विस्तार रोक्न दिल्लीसँग नेपाल सरकारले कूटनीतिक छलफल अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ ।

यतिबेला हाम्रो देशको राष्ट्रियतामा गम्भीर खालको चुनौती खडा भएको छ । भारतको हेपाहा, हैकम र अतिक्रमणकारी नीति नेपाललाई स्वीकार्य छैन । नेपाली भूमि अतिक्रमण गरेर भारतले जुन किसिमको विस्तारवादी नीति लिएको छ त्यसको हामीले डटेर बिरोध गर्नु पर्छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा चीनको मानसरोवर जाने मोटरबाटो निर्माण गरिरहेको छ । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षा र सम्बर्धन गर्न देशभक्त नेपाली एकजुट हुनुपर्ने बेला आएको छ ।

सीमा अतिक्रमणको विषय कहिले बढी चर्चा हुने कहिले सेलाउने हुनुहुँदैन । नेपाल भारत बीचको सम्बन्ध राम्रो हुनु पर्छ । सम्बन्ध बिग्रन दिनु हुँदैन । यसलाई कुटनीतिक माध्यमबाट समाधान खोज्नु पर्छ । नेपाली जनताको चाहाना यो पनि हो । तर भारतले नेपालमाथि हेपाहा प्रबृत्ति त्याग्नु पर्छ । राजनीति दलहरु पनि-आफनो अडानमा रहनु पर्छ । भारतले जे जे भन्छ त्यो त्यो गर्न छोड्नु पर्छ । हाम्रोलागि सबैभन्दा ठूलो देश हो । राष्ट्रियता हो । जुन देशका नागरिकमा राष्ट्रियताको भावना जीवन्त हुन्छ, त्यो देश बलियो हुन्छ । मेलमिलाप भएको मुलुकमा नागरिक एकजुट हुन्छन् ।