देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा

-डा. डी. आर. उपाध्याय


सार्वजनिक पदमा रहेका सबै राष्ट्रसेवक कर्मचारी तथा उच्च पदमा रहेका सबैले आफनो सम्पत्ति बिवरण सार्वजनिक गर्नु पर्छ । त्यसो भयो भने मात्र इमानदारीता देखिने छ । लामो समयदेखि नै राजनीतिक नेतृत्व इमान्दार तथा देश र जनताप्रति उत्तरदायी हुन सकेनन् । राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुन नसक्दा समस्या उत्पन्न भएको छ । आज राजनीतिक नेतृत्व अपारदर्शी हुँदै जाँदा देशमा मनपरी भएको छ । नेताहरु नै आफ्नो सम्पत्ति लुकाउँदै आइरहेका छन् । सबै सम्पत्ति लुकाउने र आफ्नो नाममा केही पनि नभएको विवरण दिने काम नेताहरुले गदै आएका छन् ।

नेताहरुको जीवनशैली र तडकभडक हेर्दा जनतालाई लाज भएको छ । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने काममा पूर्ण रूपमा बेवास्ता गरिरहेका छन् । सार्वजनिक ओहोदामा रहेका सबैले सम्पत्ति विवरण सार्वजनिक गरेर इमानदारीता देखाउन सक्नु पर्छ । अब मुलुकको शासन सत्ता सञ्चालन गर्न आउने सबै नेताहरूको एक एक सम्पत्ति विवरण खोजी गर्न जरुरी छ । जनस्तरबाटै उनीहरूलाई नियमित रूपमा सम्पत्ति विवरण सार्वजनिक गराउन सशक्त दबाब दिँदै अभियान नै सञ्चालन गर्नुपर्छ ।

देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा फस्दै आइरहेको छ । भ्रष्टाचार झन् पछि झन् बढदै छ । मिलेर देश लुट्ने र देशलाई टाट पल्टाउनेहरुलाई भोली जनताले माफि दिने छैनन् । हेर्नुस आज नीतिगत भ्रष्टाचार मौलाउँदो छ । शासक प्रशासकहरूको मिलिमतोमा देश कंगाल बनाउँदै छन् । देशलाई समृद्ध र विकसित बनाउन कसैको ध्यान पुगेको छैन । केन्द्रदेखि प्रदेश तथा स्थानीय सरकार आफैं भ्रष्टाचारको अखडा बनिरहेका छन् ।

राजनीतिक नेतृत्व आफ्नो हितका लागि जे पनि गर्न तयार छ । अहिले कतिपय मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिमा पनि व्यापक चलखेल भइरहेका गुनासा आइरहेका छन् । भ्रष्टाचार गरेर कमाइएका अकुत सम्पत्ति जफत गर्नुपर्छ । भ्रष्टाचार आज यति धेरै रूपमा फैलिएको छ कि भनि साध्य छैन । भष्टाचारले आर्थिक, सामाजिक, राजनीतिक वा वातावरण सबै क्षेत्रमा नकारात्मक असर पारेको छ । नेपालमा नेताहरूकै कारण भ्रष्टाचारको जरो निकै फैलँदो छ । अब भ्रष्टाचार निर्मूल पार्ने हो भने कठोर राजनीतिक प्रतिबद्धताको आबश्यकता छ ।