काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापति

-डा. डी. आर. उपाध्याय


नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन् । देउवा सभापतिमा निर्वाचित भएसंगै चुनौति र अबसर दुबै उनीसामु खडा भएर आएका छन् । पार्टी भित्रको आन्तरिक मदभेद मिलाउनु उनको प्रमुख दायित्व रहने छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई चित्त बुझाएर संगै लैजानु पर्ने जिम्मा पनि देउवाको काँधमाथि नै छ । सभापति पदमा पराजित डा. शेखर कोइरालालाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारी देउवामाथि छ । अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन् त्यो हेर्न आम कार्यकर्ता चासोका साथ बसेका छन् ।

नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट देउवा फेरि दोहोरिनु नेपाली कांग्रेसका लागि फाइदा हो वा घाटा त्यो उनैले जानुन् । शेखर कोइराला पनि काँग्रेस पार्टीभित्र लोकप्रिय नेता नै हुन् । देउवाले सभापतिमा जित्नुमा प्रकाशमान सिंहको ठूलो भूमिका छ । उनी पहिलो चरणमा आफै सभापति पदमा भिडेका थिए । आफनो थोरै मत आएपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए । देउवा र सिहं बीच लेन देनको सहमति भएको खबर पनि सुनिन्छ । पदको लागि जस्तोसुकै सहमति गर्न पनि तयार हुने राजनीतिक दल र तिनका नेताहरुप्रति जनताको बिश्वास घट्दो छ ।

नेपाली काँग्रेसको चौधौं महाधिबेशनले बरिष्ठ नेता रामचन्द्र पौडेललाई आशु झार्न बाध्य बनायो । निष्ठा र त्यागको राजनीति गर्दै आएका पौडेल मतदान गर्न समेत नगएको खवर छ । यस्तो किन भयो ? यो कुरा देउवाले समिक्षा गर्न जरुरी छ । आगामी निर्बाचनमा देउवाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सक्छन् की सक्दैनन् त्यो नै महत्वपूर्ण सवाल बनेको छ । आगामी निर्वाचनमा देउवाले पार्टीलाई पहिलो पार्टी बनाउन सकेनन् भने उनीमाथि गम्भीर प्रश्न पक्कै उठ्ने छन् । नेपाली काँग्रेसको जिम्मा फेरि देउवाको हातमा गएको छ । अब देउवाले पार्टीलाई कुन गतिमा लैजान्छन् त्यो आगामी दिनले देखाउने छ ।

नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । यो पार्टीमाथि अझैपनि जनताको बिश्वास र भरोसा छ । नयाँ सोच, नयाँ चिन्तन बोकेर काँग्रेस अघि बढ्नु पर्ने जरुरी छ । हिजो निष्ठा र त्यागको राजनीति हुन्थ्यो आज लाभको राजनीति भएको छ । हिजो त्याग र निष्ठाका नेता थिए आज स्वार्थी नेता छन् । स्वार्थको राजनीतिले न पार्टी बनाउन सकिन्छ न त देश र जनताको भबिश्य ।

आज सबै पार्टीमा स्वार्थको राजनीति हावी हुँदै गएको छ । यसरी देश बनाउन सकिदैन । राजनीति भनेको सेवाभाबले गरिने चिज हो । राजनीतिको नाममा ब्यापार भयो । पैसा हुनेहरु राजनीतिमा हाबी भए । पैसा नहुनेहरु राजनीतिबाट पाखा लाग्दै छन् । यो ठूलो समस्या हो । राजनीति बिचार र सिद्धान्तले चल्नु पर्छ । बिचार र सिद्धान्त बिनाको राजनीति लुलो हुन्छ ।