परिवर्तन नेपालद्वारा संस्कृति बचाऔं महाअभियानको शुभारम्भ

-तुलसी गिरी ‘भावुक’


‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृति नेपालको पहिचान, साँस्कृतिक अतिक्रमण विरूद्ध हाम्रो अभियान’ भन्ने नारा सहित परिवर्तन नेपालले २६ गते आइतबार ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को शुभारम्भ समारोह सम्पन्न गरेको छ l बिजुलीबजारस्थित कार्निभल रेष्टुरेन्टको सभाहलमा आयोजित सो समारोह नेपाली कला क्षेत्रका बहुआमामिक व्यक्तित्व यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

कार्यक्रममा परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा  महाअभियानका संयोजक मोहन निरौला, विशिष्ट चलचित्र कलाकार बसुन्धरा भुसाल, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, लोकप्रिय कलाकार दिपाश्री निरौला, महाअभियानका सदस्यहरु सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्ड बहादुर अधिकारी, मनोज कुमार भेटवाल, विश्वमणि घिमिरे लगायत चलचित्रकर्मी, सङ्गीतकर्मी एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो l

समारोहमा महाअभियानका संयोजक मोहन निरौलाले नेपाली संस्कृति बचाउनका लागि आगामी दिनमा गरिने १९ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेका थिए l जसमा नेपाली संस्कृति बचाउनका लागि गरिने पत्रकार सम्मेलन, प्रदर्शन, अपिल, अन्तरक्रिया, नाटक मञ्चन र विभिन्न निकाय एवं समितिहरुसँग गरिने सहकार्यको बारेमा उल्लेख गरिएको छ l यो अभियान गैर राजनीतिक, गैर व्यावसायिक र गैर नाफामूलक हुने, साथै सबै कार्यक्रमहरुमा यसका अभियन्ताहरुले स्वयमसेवीको रुपमा स्वयम् खर्च गर्ने कुरा पनि समारोहमा जानकारी गराईएको छ l प्रारम्भिक चरणको कार्यक्रम ३ बर्षको हुने र समयानुकूल थप कार्यक्रमहरु तय गर्दै लगिने कुरा समेत मोहन निरौलाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा समावेश गरिएको छ l

लगभग आजभन्दा २५ बर्ष अगाडि स्थापित परिवर्तन नेपालले विगतमा नेपाली कला, संस्कृति, रङ्गमञ्च, टेलिचलचित्र र ठूलो पर्दाका चलचित्र क्षेत्रका प्रतिभावान युवाहरुलाई प्रशिक्षण दिने, नृत्य, अभिनय र चलचित्र निर्माण सम्बन्धी विषयमा प्रशिक्षण दिने, स्वास्थ्य, शिक्षा, दुर्व्यशन, महिला तथा बालबालिकामाथि हुने हिँसा बिरिद्ध विभिन्न माध्यमबाट जनचेतना जगाउने, नेपाली कला-संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने, कला-संस्कृतिको क्षेत्रका सर्जक-कलाकारहरुलाई पुरस्कार र सम्मान अर्पण गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ l

समारोहमा प्रमुख अतिथि लगायतका बक्ताहरुले यस महाअभियानको खुलेर प्रशंसा गर्दै यसमा आफूहरुको पूर्ण समर्थन र साथ रहेको बताएका थिए l