डा. उपाध्यायका थप २१ सहित ८० विश्व कीर्तिमान


डा. डी. आर. उपाध्यायले थप २१ सहित ८० विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायलाई २१ विश्व कीर्तिमानका प्रमाणपत्र प्रदान गरियो । यसअघि भिन्न भिन्न विधामा ५९ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले थप २१ कीर्तिमान कायम गरेसँगै उनको  विश्व कीर्तिमान ८० पुगेको छ l

२१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिथिहरू गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ लगायतले उपाध्यायलाई पालैपालो विश्व रेकर्डका प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको सो कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै एकैदिन फरक फरक २१ विधामा दशओटा विश्व रेकर्ड संस्थाबाट सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति भएको बताए । उनले अगाडि भने – ‘यो समग्र नेपालकै लागि गौरवको कुरा हो’ ।

समारोहका प्रमुख अतिथि महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको भन्दै यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने धारणा व्यक्त गरे ।
डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक, एभरेष्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड जस्ता दश संस्थाबाट २१ विधामा एकसाथ विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

उनले वर्ल्ड रेकर्ड प्राप्त गरेका २१ वटा फरक विधामा सङ्गीतका विभिन्न तालहरू (क्लासिकल बिट) सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरूको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्ट लगायतका रहेका छन् ।

कार्यक्रममा नेपाली गीत सङ्गीतमा लागेकाहरूलाई डा. उपाध्यायले गरेका कार्यले गर्व महसुस भएको गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाले बताए । उनले अगाडि भने- ‘उपाध्यायले नेपाली गीत सङ्गीत जगतलाई विश्वमै पुर्‍याएर महत्वपूर्ण योगदान दिनुभएको छ । यो निकै सराहनीय कार्य हो र हामी सबैको लागि गर्वको कुरा हो । हामी नेपाली पहिला खुकुरीका कारण विश्वमा चिनिए पनि अब कलमको माध्यमबाट पनि विश्वमा चिनिदैछौँ’ ।

यस्तै अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वर्ल्ड बुक सहित सबै वर्ल्ड रेकर्डमा नेपालको नाम लेखाउन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने- ‘यी रेकर्ड डीआरको लागि मात्रै नभएर देशको लागि पनि गौरवको कुरा हो ।’

यस्तै माधव खनाल, हेमप्रभास अधिकारी लगायतका अतिथिले डा. उपाध्यायले नेपाली साङ्गीतिक क्षेत्रलाई विश्वमै चिनाउने लक्ष्यका साथ काम गरेको बताउँदै बधाई तथा शुभकामना दिएका थिए ।

डा. उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको बताए । आफ्ना लागि र देशका लागि आफूले यो सबै गरिरहेको बताउँदै उनले छिट्टै नै एकसय रेकर्ड पुर्‍याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको समारोहलाई जानकारी गराए ।

कार्यक्रममा महानिरीक्षक खनाललाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक / सङ्गीतकार सागर अधिकारी, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी, राजेन्द्र लुईंटेल, कोरियोग्राफर तथा निर्देशक माइकल चन्दलाई अमेरिका बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो ।
तस्बिर : सुरेन्द्र थापा