गीतकार सङ्घद्वारा जगतमर्दनको सम्झनामा श्रद्धासुमन सभा

-तुलसी गिरी ‘भावुक’


गीतकार सङ्घ नेपालले अमर सर्जक जगतमर्दन थापाको प्रथम बार्षिकीको अवसरमा स्मृति श्रद्धासुमन सभा सम्पन्न गरेको छ l सङ्घले बिजुलीबजारस्थित आफ्नै कार्यालयको सभा हलमा सो कार्यक्रमको आयोजना गरेको हो l

सङ्घका उपाध्यक्ष वसन्त बित्याशी थापाको सभापतित्वमा सम्पन्न सो सभामा अग्रज गीतकार राजेन्द्र थापा, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल, वर्तमान महासचिव रमेश कोईराला, कोषाध्यक्ष जे. बी. संयोगी, कार्यसमिति सदस्य टिका राई ‘शिव’, गीतकार सदस्यहरु बालक गुरुङ, भगवती रोका, सर्जक जगतमर्दनका सुपुत्र मोहितमर्दन र बुहारी दिपा लगायतको उपस्थिति रहेको थियो l सभामा उपस्थित सबैले स्व. जगतमर्दनको तस्बीरमा पुष्प गुच्छा र माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए l  

कार्यक्रममा अग्रज गीतकार राजेन्द्र थापाले जगतमर्दन गीत रचना, सङ्गीत सिर्जना र गायन तीनै विधामा उत्तिक्कै अब्बल औंलामा गन्न सकिने थोरै सर्जकहरु मध्येका एक भएको बताए l उनले जगतमर्दनको शालीनता र भद्रताको समेत खुलेर प्रशंसा गर्दै जीवनको अन्तिम समयसम्म पनि निरन्तर सिर्जनामा लागिरहने कर्मशील सर्जकको रुपमा जगतमर्दनलाई स्मरण गरे l सभामा जगतमर्दनका सुपुत्र मोहितमर्दनले आफ्ना दिवंगत बुबाको स्मृतिमा सङ्घले श्रद्धासुमन सभाको आयोजना गरेकोमा हार्दिकता प्रकट गरेका थिए l सङ्घका उपाध्यक्ष वसन्त बित्याशी थापा र पूर्व अध्यक्ष योगेन्द्रमणि दाहालले पनि जगतमर्दनको सिर्जनशीलता र व्यक्तित्वको बारेमा आ-आफ्ना भनाईहरु राखेका थिए l

गीतकार सङ्घ नेपालले केही समय अघि विधिवत् जगतमर्दन थापा स्मृति गीतकार सङ्घ नेपाल अक्षयकोषको समेत स्थापना गरेको कुरा थाहा भएको छ l जसमा छोरा मोहितमर्दन संरक्षक रहेका छन् l कोषले जगतमर्दनका कृति र सिर्जनाको खोज, अनुसन्धान, सम्बर्धन र प्रवर्धनको लागि काम गर्ने कुरा सङ्घका उपाध्यक्ष वसन्त बित्याशी थापाले जानकारी गराएका छन् l कार्यक्रममा सङ्घद्वारा दिवंगत सदस्य सर्जकको पहिलोपटक स्मृति सभाको आयोजना गरिएको र यस प्रकारका कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने कुरा जानकारी गराईएको थियो l कार्यक्रम सङ्घका महासचिव रमेश कोईरालाले सञ्चालन गरेका थिए l