नेताका चरित्र उदाङ्गो पार्दै गायक शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


माधुर्यताका पर्याय प्रसिद्ध गायक शिशिर योगीको स्वरमा देश र समग्र जनताप्रति समर्पित गीत राणाले खाए को भिडिओ सार्वजनिक भएको छ l भिडिओ East West Nepal नामक यु ट्युब च्यानलबाट आज डिजिटल बजारमा आएको हो l भूपेन्द्र खत्रीको शब्दरचना / सङ्गीत रहेको यस गीतमा किरण कँडेलले सङ्गीत संयोजन गरेका छन् l गीत प्रज्ञा साउण्ड स्टुडियोका प्राविधिक शम्भु तण्डुकारको रेकर्डिङ / मिक्सिङमा तयार भएको हो l

यसैगरी वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस गीतको भिडिओ हरिश महराको सिनेम्याटोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को कन्सेप्ट एवं सम्पादनमा तयार भएको हो l

गीतमा राणाकालदेखि हालसम्मको राजनीतिक वृत्त र नेताहरुको नालायकीपनलाई उदाङ्गो पारिएको छ l व्यवस्थाका नाम फेरिए l नेताका अनुहार फेरिए l राजनीतिक पार्टीका नाममा सत्ताधारीहरु फेरिए l तर जनताले के पाए ? गीतमा यही यथार्थलाई नङ्ग्याईएको छ l लामो कालखण्डमा देखिएका लुटतन्त्र, नेताका एकैखाले छेपारे चरित्र र आम जनताका दुर्दशालाई गीतले घाम झैं छर्लङ्ग पारेको छ l

नेतागिरी पेशा भएको छ l सबैभन्दा मुनाफाको व्यापार भएको छ l जहाँ डर, लाज, घीन, नैतिकता र जवाफदेहिता छैन l यही कुरालाई उजागर पार्दै गीतले अब नबिकौं, सच्चा देशभक्त र जनमुखी नेता खोजौं भन्ने सन्देश दिएको छ l गीतले नालायक घुसखोरी, कमिशनखोरी र लुटाहाहरुलाई खबरदारी गर्दै लुटको धन जफत हुनुपर्छ भन्ने कुरा पनि बोलेको छ l कुनै नेता वा दल विशेषको पक्ष / विपक्षमा नभई समग्र देश र जनताको हितमा लेखिएको यथार्थतामा आधारित यो गीत समय सापेक्ष, उद्देश्यमूलक र सार्थक छ l चेतनाको विगुल बनेर आएको यो गीतलाई देश जनताप्रतिको असिम प्रेमको प्रतिक पनि मान्न सकिन्छ l