हरेक हप्ता देउडा प्रतिस्पर्धा, बिजेताको घोषणा दर्शकले गर्ने

-तुलसी गिरी ‘भावुक’


नेपालको सुदूरपश्चिम र खासगरी कर्णाली क्षेत्रमा प्रचलित मौलिक तथा साँस्कृतिक गीत देउडाको देश-विदेशमा प्रबर्धन एवं प्रचारप्रसारका लागि देउडा क्षेत्रका कलाकर्मीहरुको सामूहिक प्रयासमा युट्युब मार्फत साङ्गीतिक अभियान सञ्चालन गरिएको छ l

देउडा हाम्रो फैसला तम्रो नाम दिईएको सो युट्युब च्यानलबाट साप्ताहिक रुपमा प्रतियोगितात्मक देउडा कार्यक्रम प्रसारण गरिने छ भने दर्शकहरुको कमेन्टको आधारमा बिजेताको घोषणा गरिने छ l सम्भवत: विश्वमै पहिलोपटक दर्शक नै निर्णायक रहनेगरी सुरु गरिएको यो नौलो प्रकृतिको कार्यक्रममा हरेक पछिल्लो एपिसोडमा अघिल्लो एपिसोडका बिजेताको घोषणा गरी पुरस्कृत गरिने कुरा थाहा भएको छ l

यो युट्युब च्यानल बी.जी.एफ.डब्लु.ए. { Business Group of Farwestern Artists } ले सञ्चालन गरेको हो l च्यानलमा केहीदिन अघि परिचयात्मक पहिलो एपिसोड अपलोड भईसकेको छ भने अब छिट्टै प्रतिस्पर्धात्मक एपिसोडहरु दर्शकले हेर्न पाउने छन् l

कार्यक्रम सञ्चालकहरुले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका चर्चित एवं टिपिकल देउडियाहरुको सहभागिता रहने, कार्यक्रमको छायाङ्कन स्थानीय क्षेत्रमै गरिने, गीतमा देउडा क्षेत्रमा चर्चित गायक-गायिकाहरुको जीवन र सङ्घर्षका कथा पनि समावेश गरिने, सुदूरपश्चिमको धार्मिक र पर्यटकीय स्थलका साथै साँस्कृतिक परम्पराहरुको प्रवर्धनलाई प्राथमिकतामा राख्ने आदि कुराहरु कार्यक्रमका विशेषता हुने कुरा सञ्चालकहरुले जानकारी गराएका छन् l हरेक एपिसोडमा महिला र पुरुष समूहको प्रतिस्पर्धा हुने कुरा थाहा भएको छ l