‘उत्कृष्ट गीत रचनाका लागि महँगो पारिश्रमिक त लिनै पर्छ’


रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दुई पटक उत्कृष्ट गीतकारको पुरस्कारले पुरस्कृत गीतकार रमेश दहाल दोलखा, मैनापोखरीमा २०३५ सालमा जन्मेका गीतकार हुन् । २०५२ सालदेखि गीत लेखनमा सकृय दहालले २२ बर्षमै पहिलो गीत फेरि तिम्रो सम्झनाले रेकर्ड गरे । रमेशका बालुवाको घर (२०६२) र  हिउँको फूल (२०७५) गरी दुईओटा गीतसङ्ग्रह प्रकाशित छन् । तेस्रो गीतसङ्ग्रह फूलको केस्रा प्रकाशन हुँदै छ भने एकल एल्बम आउँने क्रममा छन् । विभिन्न गायक-गायिकाहरुका ३२ ओटा एल्बममा गीत लेखेका र अनुसन्धनात्मक लेखहरु समेत लेख्ने रमेश एक चर्चित गीतकार हुन् । नयाँ तथा पुराना सङ्गीतकर्मीहरुसंग साङ्गीतिक सहकार्य गरेर ३०० जति गीत रेकर्ड गराएका उनका हजार अधिक गीत लिपिबद्ध छन् । प्रस्तुत छ रमेशसंग प्रकाश घिमिरेको वार्तालापः 

१. तपाईको पहिलो चर्चित गीत ‘फेरि तिम्रो सम्झनाले’ कसरी लेख्नुभयो ?
गणेश पराजुलीको सङ्गीतमा यशोदा पराजुलीले गाउनुभएको फेरि तिम्रो सम्झनाले बोलको गीत मेरो पहिलो गीत हो । यो गीत २०५७ सालमा रेकर्ड भएको हो । यो गीत मैले २०५० सालमा चरिकोटकोमा अध्ययन गर्दा लेखेको हो । विद्यालयमा पढ्दा साथीहरुले प्रेमसम्बन्धमा समस्या आयो भन्थे । साथीहरु निकै पीडा महसुस गर्थे प्रेम वियोगको । त्यही विषयमा मैले कोरेको यो गीत २०५५ सालमा पूनर्लेखन गरें ।

२. तपाईका हिट गीत कुन कुन हुन् ?
मेरा चर्चित गीतहरुमा फेरि तिम्रो सम्झनाले, किनारामा उभिएर, खैरो खैरो कपाल, तिम्रो ओठको आकृति, सुन्दर फूल, लजालु रुप, मायामा कुर्न, साँझ परेपछि, तिमीलाई भेट्दा, चन्द्रमा सस्तो, आँखाले हेर्यो, सागरको बगरमा, रानी खोला, यो केटो त, आमा मलाई, मिल्टेरीको जुत्ता, हुन्न हुन्न, जननी, ए झण्डा, पूर्वको बादल लगायत हुन् ।

३. गीत-सङ्गीतमा तपाईको योगदान के हो ? 
मैले झण्डै तीनसय गीत रेकर्ड गरिसकें । हजार अधिक गीत लिपिबद्ध छन् । मेरा प्रकाशनहरुले गीत-सङ्गीतमा अग्रजहरुले सुरु गरेको आधुनिक गीतको यात्रालाई नियमितता दिएको छ । गीतको भण्डारमा दुईओटा किताव उपलब्ध छन् । मेरा गीतमा नयाँ सङ्गीतकर्मी स्थापित भए । नेपाली आधुनिक गीति लेखनमा नयाँ गीतकारहरु आकर्षित छन् । मेरा खोजमूलक लेखले नेपाली गीत-सङ्गीतको थप अनुसन्धान गर्न सहज भएको छ । मेरा गीत संलग्न साङ्गीतिक एल्बमले गायकलाई आर्थिक लाभ समेत भएको छ । 

. कुन कुन अवार्ड प्राप्त गर्नुभयो ?  
मैले रेडियो नेपालका उत्कृष्ट गीतकारका दुईओटा अवार्डहरु, आठौँ प्रभु पे म्युजिक खबर म्युजिक अवार्ड, सातौँ नेशनल क्यापिटल अवार्ड, सगरमाथा म्युजिक अवार्ड, नाट्यश्वर म्युजिक अवार्ड, विष्णुलक्ष्मी-तुलसीमाया साहित्यिक पुरस्कार, जिनियस म्युजिक अवार्ड, औद्योगिक नेपाल शान्ति अवार्ड लगायत पाएको छु ।

५. तपाई कुन गीतकारबाट बढी प्रेरित हुनुहुन्छ ?
म कृष्ण प्रसाद घिमिरे र किरण खरेलबाट प्रेरित छु । कृष्ण प्रसाद घिमिरेका गीतहरुमा म प्रकृति भेट्छु । उहाँका गीतले लोकजीवन बोकेका हुन्छन् । किरण खरेलज्यूका गीतमा बढी नारी समवेदना भेटिन्छ । पुरुष भएर पनि नारीका गीत लेख्न सक्ने उहाँबाट म प्रभावित छु ।

६. तपाई बर्तमान नेपाली गीत-सङ्गीतलाई कसरी हेर्नुहुन्छ ?
हाम्रो गीतसङ्गीतले हिन्दी गीत-सङ्गीतलाई पूरै विस्थापित गरेको छ । नेपाली युवाहरु सिर्जनामा लागेर रचनात्मक भएका छन् । धेरैले गीत-सङ्गीतलाई जीवन गुजाराको माध्यम बनाएका छन् । तर हाम्रो गीत-सङ्गीतमा धेरै सुधार्नु छ । गीतहरु शव्द, सङ्गीत र गायनको हिसावले खस्केका छन् । दैनिक बिसौं गीत बन्छन् । ती गीतहरु बुष्टका लागि डलर खर्चनाले हाम्रो पैसा बाहिरिएको छ । रोयल्टी सन्तोषजनक छैन । यसैले गीत-सङ्गीतमा कानुन बनाई सुधार गर्न आवश्यक छ । 

७. तपाईका गीतमा किन र कसरी विविधता आएका छन् ?
अध्ययन गरेर गीत लेख्ने भएकोले मेरो गीतमा विविधता आएको हो । म एउटै फर्मेटमा अर्को गीत लेख्दिन । गीतको फर्मेट एकै हुँदा सिर्जनात्मक हुँदैन । यसैले म विभिन्न फर्मेटमा गीत लेख्छु । फरक कथा, पात्र र शैलीमा लेख्नु नै विविधता ल्याउनु हो । म देश तथा विदेशको भोगाई गीतमा लेख्छु जसले गर्दा मेरा गीतमा विविधता देखिन्छन् ।

८. गीत कसरी लेख्नुहुन्छ ?
गीतकार बन्न नियमित अध्ययन गरेर धेरै कुरा आत्मीकरण गर्नुपर्छ । भाषासँग सम्बन्ध बिस्तार गर्नुपर्छ । शव्दहरु कसरी प्रयोग गरिन्छ, यसको गाम्भिर्यतालाई जान्नुपर्छ । एक दुईओटा गीत लेख्दैमा वा चल्दैमा हौसिनु हुँदैन । गीतकारले एउटा मात्रै गीत कोर्दैन । उसले एउटा मात्रै जीवनको आयाम लेख्दैन । गीतकार बन्न अरुले कसरी शव्दसँग खेलेका छन्, कसरी कथालाई प्रस्तुत गरेका छन् भन्ने बुझ्नुपर्छ । शव्दहरुको भौतिक उपस्थितिले मात्रै गीत बन्दैन । किनभने शव्दहरुले ब्यक्त गरेको कलात्मक परिवेश गीत हो । एउटा गीतकारले त्यो शाव्दिक परिबेशलाई सजिलै साधारण मानिससम्म पुर्याउनु पर्छ ।

९. गीत लेखेर पारिश्रमिक कति लिनुहुन्छ ?
बजारमा मलाई महँगो गीतकार भन्छन् । म अरुको भन्दा केही बढी पैसा लिन्छु पनि तर मैले त्यही अनुसारको उतकृष्ट गीत लेखेर पारिश्रमिक लिने हो । क्षमता भएका तर आर्थिक अवस्था कमजोर भएका भाइ बहिनीहरुलाई म सहयोग स्वरुप पनि गीत लेखिदिन्छु । तर गीत लेखेर बाँच्न पारिश्रमिक राम्रो त लिनै पर्यो ।

१०. नेपाली गीत-सङ्गीत कसरी रुपान्तरण हुँदै गएको छ ?
समाज परिवर्तनसँग जोडेर हेर्दा पञ्चायतकाल पूर्व, पञ्चायतकाल, प्रजातन्त्र पछि र गणतन्त्र पछिको गीत-सङ्गीतलाई फरक फरक रुपमा हेर्नुपर्छ । पञ्चायत पूर्वको गीतमा स्तुतिगान वा मालिकलाई खुसी पारिन्थ्यो । लोकगीतको बाहुल्यता रहने ती गीत मेलापात, जात्रा र पूजामा गाइन्थे । पञ्चायतकालमा राजसंस्था र ब्यवस्थाको पक्षमा गीत बन्थे । क्रान्तिकारी गीत लुकिछिपी गाइन्थे । २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएपछि क्रान्तिकारी, प्रेमगीत, फिल्मी र पप गीत बनेका छन् । हाल नेपालमा व्यावसायिक गीतहरु प्रशस्तै छन् । प्रविधिको प्रयोग गरेर गीत बन्दछन् । गीत-सङ्गीतमा सबैको पहुँच छ । 

 ११. तपाईको प्रतिस्पर्धी को हो ?
म आफैंआफ्नो प्रतिस्पर्धी हो । मेरा हरेक गीत आफ्नै गीतसँग प्रतिस्पर्धा गरिरहेका छन् । मेरो पहिलो गीतसँग बालुवाको घरमा देखेका कमिकमजोरी मैले हिउँको फूलमा हटाएँ । अव आउने गीतसङ्ग्रह फूलको केस्रामा म अघिल्लो गीतसङ्ग्रहमा देखिएका कमजोरी सुधार्छु । त्यस्तै, अघिल्लो गीतले पछिल्लो गीतको लागि नयाँ कुरा सिकाउँछ । त्यसैले म अघिल्लोभन्दा पछिल्लो सिर्जना अब्बल बनाउँछु । 

१२. अन्तमा तपाईको केही भन्नु छ ?
गीत समाजको ऐना हो । हामीले हाम्रै समाजलाई मनोरञ्जन  दिन गीत लेख्ने हो । समयानुकुल तर गहन गीत लेख्नु मेरो रहर हो ।