आफ्नो मान्छेले एक्लै छाडेर गएपछिको पीडा


विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ गीत जन्मौ जन्म नछुट्टिने नाता सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ को सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको यस गीतको भिडिओमा डा. डी.आर. को साथमा नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । भिडिओमा एकदमै मन परेको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाङ्कन रहेको यस भिडिओमा शिलन लम्सालको सम्पादन छ ।

‘गीत जति मन छुने खालको छ भिडिओ पनि त्यतिकै राम्रो बनाउने कोसिस गरेको छु’ निर्देशक चन्दले भन्नुभयो । भिडिओ डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नुभएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।