-डा. डी.आर. उपाध्याय
यतिबेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो । अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नुपर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन् । कुनैपनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन । यो महामारी र संकटको बेला हो । यो सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो । अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स्थानीय सरकार लाग्नु पर्छ । तर त्यति प्रभावकारी रुपमा लागेको पनि देखिएन ।
पछिल्लो समयमा आएर कोरोना शहरमा केही न्यून हुँदै गएपनि गाउँघरमा बढेकै देखिन्छ । अझै सचेत र सतर्कता अपनाउनु पर्ने आबश्यकता देखिन्छ । कोरोनासंग हेलचेक्याई गर्नु हुदैन । यो संग जुधनु पर्छ । यो बाहेक अर्को कुनै बिकल्प देखिदैन । आम नागरिक लामो समय सम्मको लकडाउनका कारण अतालिएका छन् । लकडाउनका नाममा नागरिकलाई बन्दी बनाएर राजनीतिक दल र तिनका नेताहरुले कुर्सीको तानातानमा समय व्यतीत गरेका छन् । जनता कोरोनाको चपेटामा औषधि र अक्सिजन नपाएर छटपटाइरहँदा नेताहरु रमिता हेरेर बसेका छन् । यतिबेला दैनिक श्रम गरेर खाने वर्ग समस्यामा छन् । उनका लागि औषधि, अस्पताल निकै टाढाको विषय बनेको छ । सर्वसाधारण नागरिक खोप पाउन सकेका छैनन् । मुलुकका राजनीतिक दलहरूको चाला अहिले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको छ । सत्ता र शक्तिको मोहमा चुर्लुम्म डुब्दा देशलाई महामारीको संकटले छोपेको छ ।
दलहरु आरोप र प्रत्यारोपमा समय खर्चदै छन् । चुनावका समयमा ठुला ठुला सपना देखाउने तर कोरोना महामारीको कठिन समयमा नागरिकको दुःख नदेख्दा यसको मूल्यांकन समय आएपछि नागरिकले पक्कै गर्नेछन् । आफ्ना संयन्त्र परिचालन गर्नेदेखि सरकारलाई सजग गराउँदै मृत्युदर घटाउन र महामारी नियन्त्रणमा दलहरू पनि लाग्नुपर्ने हो । तर, यी कुनै कार्यमा उनीहरूको सक्रियता छैन । दैनिक मजदुरी गरेर परिवार पाल्नेहरू निषेधाज्ञा लम्बिँदा रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्तामा छन् । उनीहरूको घरमा आगो बल्यो बलेन ? भोकालाई कसरी व्यवस्थापन गर्ने ? दीर्घरोगीहरूको अवस्था के छ ? रोगीको परीक्षण, उपचार र खोप के हुँदैछ ? दलहरू र तिनका नेता बेखवर छन् ।
महामारी नियन्त्रणमा समय घर्किदो छ । महामारी नियन्त्रणमा औषधि उपचारसँगै खटिने जनशक्तिको पनि अभाव छ । भोकालाई भोजन दिने विभिन्न जिल्ला र सहरका युवा थाक्दैछन् । विपतमा सहयोग जुटाउन प्रशासन र स्वास्थ्यकर्मीले आग्रह र आह्वान गर्नुपर्ने समय आएको छ ।