फर्केर हेर्दा …

-सिने गुरुङ
{ हाल: अमेरिका }


मेरो साङ्गीतिक यात्रा १७ बर्ष भयो । मलाई सङ्गीतमा सानैबाट रुचि थियो। कोहीबेला प्राय: साँझ मेरो बुबाले हार्मोनियम बजाउनु हुन्थ्यो l अनि गीत, भजन गाउनु हुन्थ्यो । मेरी प्यारी आमा  बुबाको छेउमा बस्नु हुन्थ्यो अनि ताली बजाउनु हुन्थ्यो। आमालाई मनपर्ने गीतहरु बुबालाई गाउन लाउनु हुन्थ्यो । पछि मेरो भाइले पनि गिटारमा साथ दिन थाल्दा हाम्रो घरमै साङ्गीतिक माहोल अझ राम्रो बन्यो । हामी पद्ने स्कुलमा म्युजिक टिचर मिस मेवल विक्का जोह्नबाट हामी सबै विद्यार्थीहरुले पाश्चात्य सङ्गीतको अध्ययन गर्ने मौका पायौं ।

सङ्गीतमा मेरो धेरै रुचि देख्नुभएर आमाले एक समय शास्त्रीय सङ्गीत सिकाउने गुरु घरमै बोलाईदिनुभयो । कम समयमा भएपनि शास्त्रीय सङ्गीतमा अलि अलि ज्ञान लिने मौका पाएँ । रेडियोमा बजेका प्राय: सबै नेपाली गीत मन पर्थ्यो । मलाई मनपर्ने गीतहरुको लिष्ट लेखूँभने धेरै लामो भैजाला  कि ! स्वर्गीय नारायणगोपाल, दीप श्रेष्ठ, ओमबिक्रम विष्ट, अम्बर गुरुङ, तारादेवी, प्रेमध्वज प्रधान, अरुणा लामा, मीरा राणा, सुक्मित गुरुङ, कुन्ती मोक्तान आदि अग्रजहरुको नाम लिनै मन लाग्यो  । अरु इङ्लिश, हिन्दी अनि बङ्गाली गीतहरुबाट पनि म धेरै प्रभावित भएँ । 
धेरैसाल अघि अल इण्डिया रेडियोमा वेस्टर्न भोकल टेष्ट पास गरें ।  मेरो पहिलो एल्बम ’मन’ प्ल्याटिनम स्टुडियोबाट स्पन्सर भएको हो । दोस्रो एल्बम ’हिँड्छु’ बज्र रेकर्डले स्पन्सर गरिदिनुभएको हो । मेरो पहिलो एल्बमबाट ’तिम्रो मायामा’ गीतले कालिका एफएमबाट वेष्ट फिमेल पप अनि इमेज एफएमबाट पनि वेष्ट फिमेल पप पुरस्कार प्राप्त गरेको थियो । त्यसपश्चात ’मन’ गीतको भिडियोबाट धेरै फ्यानको मन जित्न पाएँ । दर्शक-श्रोताले धेरै रिक्वेष्ट गर्नुभएको हुनाले कान्तिपुर टिभीले मेरो लाइभ अन्तर्वार्ता लिएको थियो । म त्यसबेला एउटा साङ्गीतिक कार्यक्रमको लागि गाडीमा झापाको बिर्तामोड जाँदैथिएँ । बाटोमै इन्टरभ्यु भयो ।

मेरो बुबाको मारुनी गीत ’के को माला’ पनि धेरै श्रोताले मन पराउनुभयो । नेपालमा रहँदा तीन-चार चलचित्रमा पनि मैले आफ्नो स्वर दिने मौका पाएँ । ती मध्ये ‘सुनगाभा’ अनि ‘पल’ चल्चित्रको गीत धेरै मन पर्छ । वसन्त चौधरीको गीत ’शान्ति लुकाऊँ कहाँ’ अन्य धेरै वरिष्ठ कलाकारहरुसँग गाउने सुवर्ण अवसर पाएँ । वसन्त सरको दुई एल्बममै विभिन्न कलाकारहरुसँग गाउने मौका पाएँ । ’मेरो प्यारो मान्छे तिमी’ ( शब्द रचना: वसन्त चौधरी, सङीत: न्ह्यु बज्राचार्य ) अत्यन्तै लोकप्रिय गीत हुन गयो । अरु कलेक्शन एल्बमहरुमा पनि गाएकी छु । खासै हिसाब राखेकी छुइन कतिवटा गीत रेकर्ड भए भनेर ।

 गीतकार उत्तम भौकाजीको एल्बममा रहेको गीत ’हिरा मोती’ बाट हिट्स एफएम वेष्ट फिमेल पप पुरस्कार प्राप्त गरें । पछि मेरो दोस्रो एल्बम ’हिँड्छु’ को टाइटल गीत ’हिँड्छु’ ले हिट्स एफएमबाट ‘वेष्ट रक गीत’मा पुरस्कार जित्यो । यसरी नै श्रोताको मनसँगै धेरै अवार्डहरु प्राप्त भयो l   इमेज अवार्ड, कान्तिपुर एफएम अवार्ड, कालिका एफएम अवार्ड आदि । श्रोतावर्गको माया पाएपछि मेरो हौसला अझै बढ्यो ।

हामी अमेरिका आएको तीनबर्ष भयो । यता आएपछि साङ्गीतिक कार्यक्रम हुँदैथियो तर विशेष कारणवश हाम्रो कार्यक्रम स्थगित भयो । यहाँ आएपछि घरमै स्यानो रेकर्डिङ सामान ल्याएर भोकल रेकर्ड गर्दैछु । गुरुज्यू बासव जुजु राजोपाध्ययको शब्दरचना अनि आफ्नै सङ्गीतमा एउटा भजन पनि रेकर्ड भयो । प्रजीत श्रेष्ठ सरको रेकर्डिङ स्टुडियो ,पेन्सिल्भेनियामा ।

अहिलेका पुस्ताले मन, माया, मेरो प्यारो मान्छे तिमी, तिम्रो मायामा गाएको देख्दा अत्यन्तै खुशी लाग्छ । मलाई बिर्सनुभएको छैन रहेछ ।  धेरै धेरै धन्यबाद यहाँहरुमा । मेरो पूर्ण प्रयास छ ‘मन’ जस्तै गीत लिएर आउनलाई । अझ धेरै गीत रेकर्ड गर्न बाँकी नै छ । यहाँ अमेरिकामा हाम्रा नेपाली समाजबाट हामी नेपाली कलाकारहरुले सहयोग अनि माया पाउने गर्छौ। साङ्गीतिक कार्यक्रमहरुमा प्राय: निम्ताउनु हुन्छ । खुशी लाग्छ सबैसँग भेटघाट हुँदा ।

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }