हेर्नुस्, चिन्तै चिन्ताको जिन्दगी !

-डा. डीआर उपाध्याय


आज म अलि भावुक र चिन्तित पनि छु । केही सोच्न सकेको छैन । किन हो कुन्नि ! आज पटक्कै निन्द्रा लागेन । मेरै मनमा द्वन्द्व चर्किरहेको छ । म स्वभावले अलि आशावादी मान्छे हुँ । अव त के आश गर्ने के नगर्ने अलि दोधारमा छु । यही १६ गतेदेखि एक साताको लागि बन्दावन्दी हुँदैछ । थप यो कति लामो जाने हो यसै भन्न सकिने अवस्था छैन । आज म मात्र होइन, यो बिषयमा म जस्ता धेरै मानिसहरु चिन्तित होलान् । श्रमजीवि मजदुर पनि चिन्तित होलान् । उनलाई म के भनु । गत बर्षको लकडाउनले अझै पनि झल्झल्ती सम्झाईरहेको छ, घरि घरि झस्काईरहेको छ । म यसो सोच्छु, बिचार गर्छु, फेरि घरभित्र कति समय बित्ने हो । गत बर्षको अनुभव बसिरहन पनि नसकिदो रहेछ । दिगदार लाग्दोरहेछ । मान्छेले जस्तो पनि सहनु पर्छ । धैर्य रहन सिक्नु पर्छ । कोरोना जस्तो घातक रोगसँग खेलवाड पनि त गर्नु भएन नि ! म आफू सचेत र सतर्क हुन्छु । तपाईहरु पनि सचेत र सतर्क रहनुहोला । यो रोगसँग खेलवाड गर्ने नै होइन । अब आफनो सुरक्षा आफै गर्ने हो । यो बाहेक अर्को कुनै बिकल्प छैन । किनभने अस्पतालहरु सबै कोभिडका बिरामीले भरिइसके । अस्पतालहरुले थप बिरामी थेग्न नसक्ने अवस्था हुँदै छ । यो भयावह परिस्थितीको घरभित्रै बसेर सामाना गरौं ।

यो बिपत हो । बिपतको बेलामा सहयोग आदान प्रदान गर्ने कुरामा जुटौं । कसैलाई भोकै मर्न नदिऔं । आफूले सकेको जे गर्न सकिन्छ त्यो गरौं । सेवा नै धर्म हो । मर्कामा परेको बेला सहयोगी हातहरु उठ्नु पर्छ । कुनै मानिस भोकले मरेको सुन्न नपरोस् । मानवले मानवलाई सेवा गर्ने भनेको आपत बिपतका बेलामा हो । अरुबेला त आफै गरि खान्छन् नि ! भोलि के हुन्छ कसैलाई थाहा छैन । आज जे हुन्छ त्यसैमा चित्त बुझाऔं । मान्छेको जिन्दगी हो, हामी जन्मदा पनि रित्तो हात लिएर जन्मेको हो, मर्दा पनि रित्तै जाने हो । त्यसैले चिन्ता नगरौं । लोभ पनि धेरै नगरौं । यो जीवन बाँचे धेरै गर्न सकिन्छ । अहिलेको समय भनेको कोरोनासँग लड्ने हो । जस्तो समय आउँछ त्योसँग खेल्न र जुध्न सिक्नु पर्छ । यो नै मानव जीवनको अर्थ हो ।

जीवनमा हार खानु हुँदैन, जस्तोसुकै अवस्थामा पनि जिउन सिक्नु पर्छ । हो, अहिले हामीलाई फेरि कोरोनाको दोस्रो लहरले पिरोलेको छ । सटर, फल्याट, अफिस, कोठा, सबै बन्द हुने होलान् । घर मालिकले बन्द भयो भन्दैमा भाडा छुट गदैनन् होला । धेरै मानिसलाई चिन्ता त यो पनि छ । लामो समयसम्म लकडाउन भयो भने फेरि धेरैको रोजगारी गुम्न पनि सक्छ । के थाहा, भन्न सकिन्न । हेर्नुस् चिन्तै चिन्ताको जिन्दगी । गरिखाने बर्गलाई लकडाउनले बढी प्रभाव पार्ने गरेको छ । यसले छुने भनेको गरीखाने बर्गलाई हो । सरकारी तलव भत्ता खानेलाई लकडाउनले छुँदैन । किनभने महिना कटेपछि तलव भत्ता आइहाल्छ । के को चिन्ता । चिन्ता त म जस्ता धेरै नागरिकको हो । आफनो ब्यापार व्यवसाय गर्नेहरुको आफनै समस्या छ । यो कुरा कसले बुझने ? अब समस्यासँग  जुधेर अघि बढ्ने हो । निराश बनेर हुँदैन, पलपलमा आशाको दियो खोज्ने हो ।