गीतकार डा. उपाध्यायद्वारा थप १९ सहित ५१ वर्ल्ड रेकर्ड

तुलसी गिरी ‘भावुक’


गीतकार डा. डिआर (धर्मराज) उपाध्यायले गीत सङ्गीतबाट सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको कीर्तिमान बनाएका छन् । यसअघि ३२ वर्ल्ड रेकर्ड बनाएका गीतकार उपाध्यायले आज थप १९ वर्ल्ड रेकर्ड कायम गरेपछि उनको वर्ल्ड रेकर्डको विधा ५१ पुगेको छ l विश्वमै एकै व्यक्तिले ५१ वर्ल्ड रेकर्ड बनाएको यो पहिलो घटना भएको कुरा थाहा भएको छ l सोमबार राजधानीको रशियन सेन्टरमा आयोजित समारोहमा प्रमुख अतिथिको आसनबाट पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले प्रदान गरेका १९ विश्व रेकर्डका प्रमाणपत्र हस्तान्तरण गरेका छन् l

गीतकार उपाध्यायलाई अमेरिकन बुक अफ वर्ल्ड रेकर्ड, यूरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वर्ल्ड रेकर्ड, बङ्गाल वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, चम्पियन वर्ल्ड रेकर्ड र दुवई वर्ल्ड ट्यालेन्ट बुकले १९ फरक फरक विधामा विश्व कीर्तिमानको प्रमाणपत्र दिएका हुन् ।

यसपटक गीतकार डा. उपाध्यायले १५० भन्दा बढी देशको पर्यटन स्थलहरुको नाम समावेश भएको गीत, सबैभन्दा छोटो १८ अक्षरको गीत, एकै दिनमा चारवटा गीत लेखी, रेकर्ड सहित रिलिज गरिएको एल्बम, १ सय ७५ देशका मुद्राहरुको नाममा तयार भएको गीत, क देखि ज्ञ सम्मका ३४ वर्णको गीतको पुस्तक, ५५ वटा फरक फरक फूलको नाम समावेश भएको गीत, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरिएको गीत, विश्वका १ सय ६४ प्रजातिका चराको नाम समेटेर तयार पारिएको गीत, चिया पिउने सबैभन्दा बढी कपमा र  सबैभन्दा बढी पोष्ट कार्डमा प्रिन्ट गरिएका गीत, सकरात्मक सोचका फाईदा सम्बन्धी गीत र ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक रेकर्ड भएका गीतबाट नयाँ १९ कीर्तिमान कायम गरेका हुन् ।

सो विश्व रकेर्डको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ र गायक जुगल आचार्यले विश्व रेकर्ड कायम गर्न सफल आ-आफ्नो स्वरमा रहेका एक एक वटा गीत लाइभ गाएर सुनाएका थिए । कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट र प्रेयसी तथा गीतिसङ्ग्रह सपनाको महल, धडकन, धर्ती र जीवन साथै  प्रनिभाको पनि लोकापर्ण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले यसरी गीत सङ्गीत सम्बन्धी ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय जस्ता सर्जक विश्वमै अरु कोही नभएको बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्यको जति प्रशंसा गर्दा पनि कमै हुने भनाई पूर्व प्रधानमन्त्री चन्दको रहेको थियो ।

समारोहका विशिष्ट अतिथि पूर्व मन्त्री रामेश्वर राय यादबले पनि आफ्ना स्कुले साथी एवम गीतकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि प्रा. डा. सुरेन्द्र केसीले राज्यले भ्रष्ट फटाहाहरुलाई तक्मा बाँडेको बेला एक नेपाली श्रष्टाले फरक फरक ५१ विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यँग्य भएको बताए । उनले आफ्ना कीर्ति र विश्व रकेर्ड मार्फत नेपाली र नेपाली सङ्गीतलाई विश्वमाझ पुर्याएको पनि उनले बताए ।

गीतकार उपाध्यायको वर्ल्ड रेकर्ड अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष धेरै सर्जक/कलाकारहरुको संलग्नता रहेको भएपनि गायक / सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ साथै सङ्गीत संयोजक देवेन्द्र नेवाको विशेष सहकार्य रहेको छ l