रुद्रसेनलाई ‘दीर्घ सङ्गीत साधना सेवा सम्मान’


लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा गोधूलि साहित्य दीर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७ बाट सम्मानित भएका छन् । विगत एकदशक अघिदेखि गीत-सङ्गीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै गायक विश्वकर्मालाई सो सम्मान अर्पण गरिएको थाहा भएको छ l गोधूलि साहित्य प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकूद मन्त्री दावा तामाङले गायक विश्वकर्मालाई सो सम्मान प्रदान गरेका थिए l 

 नेपाली, मैथिली, भोजपुरी लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा स्थापित भएका गायक रूद्रसेन विश्वकर्मा यतिबेला नेपाली-मैथिली भाषाको आफ्नो एल्बम प्रितके बन्धन का गीतहरु लगातार भिडिओमा रिलिज गरिरहेका छन् l  सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशील रहँदै आएका बहुमुखी प्रतिभा रुद्रसेन शब्दरचना, सङ्गीत, गायन र भिडिओ मोडलिङमा समेत समानान्तर ढङ्गमा अगाडि बढिरहेका सर्जक-कलाकार हुन् l यो सम्मानले थप हौसला तथा उर्जा प्रदान गरेको र अझ बढी जिम्मेवारीका साथ काम गर्ने प्रेरणा प्राप्त भएको कुरा उनले  बताएका छन् ।