विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम

तुलसी गिरी ‘भावुक’


गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् l गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो l

अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् l गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थापाले सो एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए l

एल्बममा ‘दुई मुटु धड्कन एउटै’, ‘अनन्त संसारमा’, ‘जन्मौंजन्म नछुट्टिने’ र ‘आएको थाहै नदिई’ गरी ४ वटा गीत समावेश गरिएको छ l जसमा सागर अधिकारी ‘शरद’, प्रताप दास र राधिका भण्डारीले स्वर दिएका छन् l सागर अधिकारी ‘शरद’ को एकल सङ्गीत रहेको यस एल्बममा संजय श्रीपाल, राजु कार्की र साहस शाक्यको सङ्गीत संयोजन रहेको छ l एकै दिनमा तयार पारिएको धड्कन एल्बमका एकल सङ्गीतकार सागर अधिकारी ‘शरद’ का अनुसार बिहान १० बजेबाट भोकल रेकर्ड सुरु गरिएको थियो l ‘पहिलो भोकल मेरै भयो l त्यसपछि राधिका भण्डारी र प्रताप दासको भोकल रेकर्ड भएको थियो’ सङ्गीतकार अधिकारी भन्छन् l एल्बममा प्रताप दासले २ वटा गीत गाएका छन् l

‘विश्वमै हालसम्म एकैदिनमा गीति एल्बम तयार नभएकोले हामीले प्रयास गरेका हौँ l लक्ष्य अनुसार हामी सफल पनि भयौं l यस एल्बमसँग जोडिनुभएका सम्पूर्ण सर्जक, कलाकार र प्राविधिकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु’ गीतकार उपाध्याय भन्छन् l  गीतकार उपाध्यायको यो चौबिसौं एल्बम हो l   

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।