कञ्चन म्युजिक इन्टरटेनमेन्टले हालै बदलिदेऊ तिमी बोलको कर्णप्रिय गीतको भिडियो अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्रा.डा. अच्युत शर्माको रचना र वसन्त खड्काको सङ्गीत रहेको यस गीतमा वसन्त खड्काको स्वर रहेको छ । यो गीतको सङ्गीत संयोजन दीप तुलाधरले गरेका छन् ।
गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन् भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनि सम्पादन सङ्गीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाहिं नवीन निरौलाले गरेका हुन् । यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर वसन्त खड्काले मृगतृष्णा नामक एल्वम स्रोतासामु ल्याएका थिए भने गोधुली, लालिमा छहरा, वेष्ट अफ वसन्त खड्का १ र २ लगायतका गीति एल्बम पनि वसन्तका अन्य साङ्गीतिक सिर्जना हुन् । कञ्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कञ्चन एल्बमका लागि यसअघि उनले अम्बर गुरुङको रचना र सङ्गीतमा राजमार्ग, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै सङ्गीतमा संगैसंगै, सुविद गुरागाईंको रचना र आफ्नै सङ्गीतमा कालापानी, रत्न शमशेर थापाको रचना र वसन्त खड्काको सङ्गीतमा सुनिता दुलालसँग युगल स्वरमा घुम्टो , विनोद रोकाको रचनामा रातो छ साडी लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन् ।
सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा अन्तर्राष्ट्रिय छवि बनाएका प्रा.डा. अच्युत शर्मा पछिल्लो समय नेपाली गीत सङ्गीतमा उदाएका छन् । डा. शर्माका गीतमा राष्ट्रप्रेम, सामाजिक सद्भाव, एकता र मानवीय भावना ओतप्रोत भएको पाइन्छ ।
डा. शर्माका यसअघि पनि राजेशपायल राई, अञ्जु पन्त र हिमाल सागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन् । बदलिदेऊ तिमी गीतमा डा. शर्माले मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफूलाई भित्रैदेखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने सन्देश दिन खोजेका छन् ।