नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण नुवाकोटमा हुँदै


नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण नुवाकोटमा हुने भएको छ । यही माघको २४ गते नुवाकोटको बिदुरमा गर्न लागिएको आयोजकले जनाएको हो । ‘नाट्यश्वर भगवान हामी सबैको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारालाई चरितार्थ गर्दै गत वर्षदेखि नेपाली गीतसङ्गीत अनि कलाकारिताको जगेर्ना गर्ने उद्देश्यले नाट्यश्वर म्युजिक अवार्ड गर्न लागिएको हो ।

समावेसी अवार्डको रुपमा नेपाली गीत सङ्गीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक भए पनि कोरोना भाइरस (कोभिड-१९)को महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण नौ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यही माघ २४ गते नुवाकोटमा हुने भएको हो ।

कार्यक्रमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्ब शिक्षा तथा स्वास्थ्य मन्त्री अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका–१ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख, उपप्रमुख, नेपाली सङ्गीत क्षेत्रको बिशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रमको दिन नेपाली गीतसङ्गीत क्षेत्रका हस्ती, रङ्गपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना सञ्चारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्युजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड वृहत रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले बताए ।

यसैगरी कार्यक्रममा सङ्गीत क्षेत्रका बरिष्ठ एकजनालाई दीर्घ साधना सम्मानसमेत प्रदान गरिनुका साथै नयाँ पुरान केही कलाकर, सामाजिक व्यक्तित्वलाई पनि सम्मान गर्न लागिएको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिए ।

विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुर्‍याएको जिल्लाको स्थानीय निकाय र सस्थालाई समेत समानित गरिन लागेको निर्देशक अधिकारिले बताए । सम्मानित हुने व्यक्ति, स्रष्टा, सर्जक, सामाजीक व्यक्तित्व र सञ्चारर्मीको नाम केही दिनमा सार्बजनिक बताइएको छ ।