रू. १ लाख ५१ हजार सहित विशिष्ट गीतकार प्रेम विनोदलाई सम्मान

तुलसी गिरी ‘भावुक’


समग्र गीतकारहरुको एकमात्र छाता सङ्गठन गीतकार सङ्घ नेपाल ले बार्षिक कार्यक्रम अन्तर्गत विशिष्ट गीतकार प्रेम विनोद नन्दनलाई नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहित अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७६ द्वारा सम्मानित गर्ने भएको छ l  सङ्घको कार्यालय बिजुलीबजारमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो l  आगामी पुष ४ गते नारायणगढमा एक भव्य कार्यक्रमको आयोजना गरी गीतकार नन्दनलाई सम्मान अर्पण गरिने छ l  मोफसलमा बसी बि. सं. २०११ सालदेखि निरन्तर नेपाली गीत लेखनमा क्रियाशील रहनुभएका चितवनका विशिष्ठ गीतकार नन्दनलाई उहाँको योगदानको उच्च मूल्याङ्कन गरी सम्मान गर्न लागिएको कुरा सङ्घले जानकारी गराएको छ l  

सङ्घले हरेक बर्ष आफ्नो स्थापना दिवस जेठ १४ गतेका दिन कार्यक्रमको आयोजना गरी आफ्ना सदस्यहरु मध्येबाट एक विशिष्ठ गीतकारलाई राष्ट्रिय स्रष्टा सम्मान अर्पण गर्नुका साथै नगद सहित बर्षगीत पुरस्कार, बर्ष गीत पुस्तक पुरस्कारडायस्पोरा गीतकार सम्मान प्रदान गर्दै आईरहेको छ l  कोभिड-१९ का कारण विषम परिस्थिति सिर्जना भएकोले जेठमा आयोजना हुँदै आईरहेको कार्यक्रम पुषमा गर्न लागिएको कुरा संस्थाका अध्यक्ष चूडामणि देवकोटाले बताउनुभयो l  यो संस्थाको आठौँ राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रम हो l

समारोहमा हरेक बर्ष प्रदान गरिंदै आएको डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गर्ने निर्णय भएको कुरा समेत सङ्घले जानकारी गराएको छ l  गीतकार भिखारीलाई नगद रू. १५ हजार र प्रमाणपत्र सहित सम्मान गरिने छ l बिदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्याएबापत गीतकार भिखारीलाई सो सम्मान अर्पण गर्ने निर्णय गरिएको कुरा सङ्घले जानकारी गराएको छ l

यसैगरी बर्षगीत पुरस्कारका लागि टप टेनमा गीतकारहरु अरुण तिवारीको धेरैले धेरै कथा, किरण टि लिम्बूको अलिअलि हँसाउँदै, डा. डीआर उपाध्यायको आफ्नै छातीबाट, दिनेश सुवेदीको ए हेरन कान्छी, प्रकाश दुमी राईको एकजुनी त हो, भूपेन्द्र महतको मेरो सिरानीमै भिजेका, महेश आचार्यको थाहा छैन जिन्दगीमा, युवराज अधिकारीको आँशु आफैं पिउनू, रमेश दाहालको पूर्वको वादल उड्यो र एच. के. धितालको यता फाट्छ यतै टाल्छु बोलका गीत छनोट भएका छन् l  

छानिएका उत्कृष्ट १० गीत मध्येबाट विशेष समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतको कार्यक्रमस्थलमा नै घोषणा गरी नगद रू. ५७ हजार र प्रमाणपत्र प्रदान गरिने कुरा बताईएको छ l संस्थामा आवद्ध सदस्यहरुको रचनामा २०७६ मा सार्वजनिक भएका र प्रतिस्पर्धाका लागि सङ्घले आह्वान गरेपछि दर्ता हुन आएका गीतहरु मध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० गीतको छनोट गरिएको कुरा थाहा भएको छ l

प्रतिस्पर्धाका लागि पर्याप्त पुस्तक दर्ता हुन नआएकोले बर्षगीत पुस्तक पुरस्कार भने यो बर्ष स्थगन भएको कुरा सङ्घले जानकारी गराएको छ l