जिन्दगीको यथार्थ चित्रण ‘म एकदिन’

-तुलसी गिरी ‘भावुक’


आम गीतहरुभन्दा फरक चिन्तन, भिन्न भाव र अलग्गै अभिव्यक्ति बोकेको गीत म एकदिन को भिडियो सार्वजनिक भएको छ l प्रसिद्ध सङ्गीतकर्मी बी. बी. अनुरागीको शब्दरचना, सङ्गीत र सङ्गीत संयोजन रहेको यो गीतमा रवि ओडले स्वर दिएका छन् l गीतमा जिन्दगीको यात्रामा काँडा बिझ्दा, पानीमा रूझ्दा, घामले पोल्दा अनि खुट्टामा ठेस लाग्दा आफ्ना बा – आमाको सङ्घर्ष र पीडालाई तुलनात्मक रुपमा मनन् गरिएको छ l जीवनयात्रामा आफूले भोगेको घामपानीमा बा – आमाको दु:ख अनुभूत गरिएको छ l गीतले एउटा मान्छेले कसरी आँधीबेरी र अनेकन बाधा – व्यवधानहरुको सामना गर्दै जीवनयात्रा अघि बढाएको हुन्छ भन्ने कुराको चुरो कलात्मक ढङ्गले उजागर पारिएको छ l  

अत्यन्तै गहन र मननीय भाव भएको यस गीतको सबन्धमा गीतका सर्जक ‘अनुरागी’ भन्छन् – ‘काँडै काँडाको बाटो छिचोलेर सफलताको फूल चुम्न सफल कैयौं रवि ओडहरुको कथा बोकेको छ यो गीतले । कठोर चट्टानमा बाटो खोपेर गन्तव्यको यात्रामा तल्लिन कैयौं बिबि अनुरागीहरुको कथा बोकेको छ यो गीतले । समग्रमा हामी नेपालीहरुको नियति यस गीतमा छ ।’

प्रिज्म डिजिटलका प्राविधिकद्वय कमल थापा र किरण बि. क. ले रेकर्ड गरेको यो गीतमा सुकुराम रसाईलीको मिक्सिङ र श्यामश्वेत रसाईलीको माष्टरिङ रहेको छ l

प्रस्तुत गीतको भिडियो मिराज अर्याल र ताराकान्त बिक { हरि } को छायाङ्कन तथा ताराकान्त बिकको सम्पादनमा तयार भएको हो भने भिडियोमा बीबी अनुरागी, रवि ओड, सुकुराम रसाईली, भूवन गन्धर्व, गोपालदेव, कमल कुमार बिक, शिक्षा रसाईली र सुवास विश्वकर्मालाई देख्न सकिन्छ l भिडियो सुनिता रसाईलीको व्यवस्थापनमा निर्माण भएको हो l