आमाछोरीको सम्बन्धको कथामा ‘लिसन टु मी’

कृष्ण भट्टराई


इण्डोनेसियन आमा तथा नेपाली बुबा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली साङ्गीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहेनत र अभ्यासपछि पहिलोपटक गाडी गुड्छ शीर्षकमा नेपाली भाषाको गीत गाएकी थिइन् । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुबालाई सरप्राइज दिन गाएकी थिइन् ।  तर गीतले नेपाली सङ्गीतकर्मीहरु सहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो । १५ वर्षीया गायिका आइशा डोटेलको चौतर्फी प्रशंसा भयो । उक्त गीतका शब्दहरु अष्ट्रेलियामै बसोबास गर्ने प्रगति देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने सङ्गीत दिएका थिए प्रगति, आइशा र प्रशान्तले । भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले । उक्त गीतको भिडियो यूट्युबमा लगभग पाँच लाख पटक हेरिएको छ ।

आईशा डोटेल, प्रगति देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठ सहितको सोही समूहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक गरेको छ । यसपटक पनि यो समूहले साङ्गीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरेको छ । यसपटक पनि प्रगति देवकोटा न्यौपानेको शब्दमा आइशा डोटेल तथा प्रमिला राईले एउटा गीत गाएका छन् लिसन टु मी शीर्षकमा । यो गीतलाई सञ्जीव सिंहले सङ्गीतबद्ध गरेका हुन् भने यसमा दिनेश श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । भिडियो दीपेश श्रेष्ठको निर्देशन, छायाङ्कन र सम्पादनमा निर्माण भएको हो भने विशेष शेरचनको सह–निर्देशन रहेको छ । गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ ।