–तुलसी गिरी ‘भावुक’
लामो समय अघिदेखि साहित्यका लगभग एकदर्जन विधामा कलम चलाउँदै आएका सर्जक सुरेन्द्र महर्जन ‘अमर’ ले गीति भजनसङ्ग्रह ‘दर्शन’ को लोकार्पण गरेका छन् l यही असोज २८ गते बुधबार काठमाण्डौमा आयोजित एक अनौपचारिक समारोहमा सर्जक ‘अमर’ ले सो कृति सार्वजनिक गरेका हुन् l कार्यक्रम थोरै सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको थियो भने सर्जक ‘अमर’ का साथै एल्बमका सङ्गीतकार सूर्यकमल राई, म्युजिक डायरी मासिकका प्रधान सम्पादक/प्रकाशक तुलसी गिरी ‘भावुक’, ग्ल्यामर प्लस मासिकका प्रधान सम्पादक राजाराम फुयाल, मिलाप मासिककी सम्पादक गीता अधिकारी लगायतका सञ्चारकर्मीहरुले सो भजनसङ्ग्रहको संयुक्त रुपमा लोकार्पण गरेका थिए l गीतकार महर्जनले गीति भजनसङ्ग्रह ‘दर्शन’ आफ्नो रचनाको २६ औं कृति र नवौं गीति एल्बम भएको कुरा जानकारी गराएका छन् l
सुरेन्द्र महर्जन ‘अमर’ को एकल शब्दरचना रहेको यस गीति भजनसङ्ग्रहमा ‘ ॐ नम:शिवाय, सरस्वती माता, प्रभूकै छ यो मनमा साथ र दिन बित्यो प्रभू’ गरी ४ वटा भजन सङ्ग्रह गरिएका छन् l जसमा राम कार्की र सूर्यकमल राईको सङ्गीत, राम कार्की र सञ्जय हमालको सङ्गीत संयोजन तथा सूर्यकमल राई र सुरेन्द्र स्वयम्को स्वर रहेको छ l ओएस नेपालको प्रस्तुतिमा प्रकाशन भएको यो एल्बमको बजार व्यवस्थापन राइजिङ् क्रिएटिभ मिडियाले गर्ने छ l