फरक भावको गीतमा गुरू र शिष्यको हिट जोडी

तुलसी गिरी ‘भावुक’


नरहरि प्रेमी र सुमिना लोको स्वरमा पुन: अर्को आधुनिक गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लामो समय अघिदेखि अमेरिका बस्दै आएका साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र नरहरिकै सङ्गीत रहेको गीत नौ डाँडा काटेपछि को भिडियो Music Nepal नामक युट्युब च्यानलबाट भरखरै बजारमा आएको हो  । केही समय अघिमात्र  नरहरि र सुमिनाकै युगल स्वरमा विश्वकीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको गीत म केही भन्छु को भिडियो रिलिज भएको थियो ।

नौ डाँडा काटेपछि को भिडियो जीबी आग्रीको निर्देशन र काल भैरवको कोरियोग्राफीमा निर्माण भएको हो भने भिडियोमा सुशील जंग कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् । यसैगरी भिडियोमा दया शंकर चौधरीको छायाङ्कन र मिन रावलको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

प्रायजसो गीतमा प्रेमी वैदेशिक रोजगारमा जाने र ‘मलाई नबिर्सनु है’ भन्दै प्रेमिकाले वेदना पोख्ने गरेको पाईए पनि यस गीतमा भने ठीक उल्टो परिस्थिति रहेको छ । अर्थात् वैदेशिक रोजगारमा जान लागेकी प्रेमिकालाई प्रेमीले ‘मलाई भुल्ने पो हौ कि ?’ जिज्ञाशा र आशङ्का व्यक्त गरेको छ भने प्रेमिका पनि आफ्नो प्रेमीलाई आश्वस्त पार्ने प्रयासमा रहेकी छिन् । आम गीत भन्दा फरक भाव र मौलिक बिषय नै यस गीतको अर्को सुन्दर पक्ष हो । गुरु शिष्यको नाता भएका नरहरि र सुमिनालाई सङ्गीत बजारमा ‘हिट’ जोडीको रुपमा पनि चिनिन्छ ।