गीतमा एउटी विवश नारीको कथा

तुलसी गिरी ‘भावुक’


दुनियाँको आँखा गढ़छ मै माथि,
तर कोही किन हुन्न सँगै हिँड्ने साथी ?

नेपाल आईडल ‘टप १० कन्टेस्टेन्ट’ पोखरेली गायिका ममता गुरुङको स्वरमा दुनियाँको आँखा शीर्षकको गीत सार्वजनिक भएको छ l गीत रचनालाई नै मुख्य पेशाको रुपमा अंगाल्न सफल नेपालकै एकमात्र गीतकार डी.पी. खनालको शब्दरचना र भर्सटाईल गायक / सङ्गीतकार शंकर थापा ‘स्माइल’ को सङ्गीत रहेको यो गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो l DushMusic Nepal युट्युब च्यानलबाट आजै मात्र सार्वजनिक भएको यस गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ l

शाश्त्रीय शैलीको मिठास बोकेको दुनियाँको आँखा लाई शब्द, सङ्गीत र स्वरको कलात्मक सङ्गम भएको एउटा सुन्ने गीतको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l गीतले समाजको एउटा यथार्थ तर कालो पाटोलाई जस्ताको तस्तै चित्रण गरेको छ l जहाँ पुरुषको काम वासना तृप्त गर्ने साधनको रुपमा प्रयोग भईरहेकी एउटी नारीको पीडा, सपना र विवशताहरुलाई हृदयविदारक भावमा उजागर पारिएको छ l