‘नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०’ को आयोजना हुने

नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२० को आयोजना हुने भएको छ।  कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली साङ्गीतिक क्षेत्रलाई चलायमान बनाउन र साङ्गीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले सङ्गीतका बिभिन्न विधातर्फ नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२० गरिने भएको छ । नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२० यही आउँदो भदौ महिनाभित्र काठमाडौँमा आयोजना गरिने कुरा आयोजक कमिटिले बताएको छ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने भदौं १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौं सम्मका गीत सङ्गीतहरुलाई  समाबेश गरिने भएको छ भने नव प्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनु पर्नेछ ।

क्रियटिभ ईन्साइट मिडिया को प्रस्तुतिमा हुन लागेको यस अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यवस्थापन गर्ने भएको छ। सञ्चारकर्मी सूर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्ब विशेष गीत ( तीज, दशैँ तिहार,होली ) , भजन, पप, आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायतका विधामा अवार्ड प्रदान गरिने छ  ।

अवार्डमा समाजका बिभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई पनि सम्मान गरिने छ भने नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड-२०२० को लागि आवेदन फारम भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा, सामाखुसीमा सम्पर्क गर्न सक्ने छन् ।