सम्झना वनको लागि हेम गिरीले सङ्कलन गरेको रकम हस्तान्तरण

तुलसी गिरी ‘भावुक’

घाँस झार्दा रुखबाट लडेर ढाड भाँचिएपछि हिंडडुल गर्न नसक्ने अवस्थामा पुगेकी सम्झना वनको उपचारका लागि अमेरिकाको कोलोराडोमा बस्दै आएका नेपालीभाषी भूटानी हेम गिरीको संयोजनमा सङ्कलित रकम ९ लाख १६ हजार ३ सय ३२ रुपैया हस्तान्तरण गरिएको छ l यही साउन ८ गते सञ्चारकर्मीहरु तुलसी गिरी ‘भावुक’, योजना पुरी र समाजसेवी प्रदिप घिमिरेको उपस्थितिमा नेपाल संयोजक नेत्र सुवेदीले कपनस्थित डेरामा सम्झनालाई सो रकम हस्तान्तरण हुन् l  कलिलो उमेरमै प्रेम बिबाह गरेकी सम्झना आजभन्दा ९ बर्ष अघि रुखबाट लडेकी थिईन् भने उनलाई माइतीले काठमाण्डौ ल्याएर उपचार गरेका थिए l ढाडको नसाले समेत काम गर्न छाडेपछि शरीरको आधापाटो नचल्ने र उभिन नसक्ने अवस्थामा जीवन बिताईरहेकी सम्झनालाई बिरामी भएदेखि नै पतिले पनि त्यागेका थिए l उनको १२ बर्षका एक छोरा छन् l

प्राप्त जानकारी अनुसार अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट १ सय २० जना मनकारीहरुले सम्झनाको लागि आर्थिक सहयोग गरेका थिए l कुल रकममध्ये क्यानडा र अष्ट्रेलियाबाट नेपाली ३० हजार रुपैया बराबरको डलर प्राप्त भएको थियो भने बाँकी अमेरिकाबासी नेपालीहरुले सहयोग गरेका हुन् l जसमध्ये International Support and Foundation of America का डिल्ली अधिकारीले सबैभन्दा धेरै १ हजार २ अमेरिकी डलर { १ लाख १७ हजार नेपाली रुपैया } सहयोग गरेका छन् l ‘सुरुमा सञ्चारकर्मी योजना पुरी दिदीबाट सम्झना वनको बारेमा जानकारी पाएको थिएँ l दिदीले केही गर्न सकिन्छ कि भनेर आग्रह गर्नुभयो l नेपालमा हुँदा पाएको दु:खहरु सम्झिएँ l मानवीय हिसाबले पनि जे जति भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र सामाजिक सञ्जालबाट सहयोगका लागि आह्वान गरें l यो मेरो पहिलो राहत सङ्कलन अभियान हो l सोचेको भन्दा धेरै राम्रो भयो l  सहयोगीहरु सबैप्रति धेरै आभारी छु’ हेम भन्छन् l

सम्झना वनको बारेको पहिलो भिडियो युट्युबर भीम लिम्बूले सार्वजनिक गरेका थिए भने उनै लिम्बु मार्फत सम्झनाको बारेमा योजना पुरीलाई थाहा भएको थियो l भिडियोहरु बाहिर आउन थालेपछि सम्झनालाई फाट्टफुट्ट रुपमा व्यक्तिगत सहयोग पनि प्राप्त हुँदै आएको छ l केहीदिन अघि मात्र दशनामी फन ग्रुपद्वारा सङ्कलित राहत रकम समेत प्रदान गरिएको थियो l समाजसेवी प्रदिप घिमिरेको पहलमा स्वास्थ्य स्थिति बुझ्नको लागि केहीदिन अघि सम्झनालाई ट्रमा सेन्टर लगिएको थियो l  कुनै दैवी चमत्कार नभए सम्झना अब कहिल्यै हिंड्न नसक्ने कुरा डाक्टरले बताएका छन् l