तारा अधिकारीको दोस्रो एल्बम सुनौलो तारा सार्वजनिक

तुलसी गिरी ‘भावुक’


गीतकार तारा अधिकारीको एकल शब्दरचना रहेको गीति एल्बम सुनौलो तारा सार्वजनिक भएको छ । राजधानीको लाजिम्पाटस्थित नेपाली चुलोमा बुधबार आयोजित कार्यक्रममा समारोहका सभापति वरिष्ठ गीतकार एवं चलचित्रकर्मी चेतन कार्की, प्रमुख अतिथि पूर्व मन्त्री तथा गीतकार शंकर प्रसाद कोईराला, वरिष्ठ सङ्गीतकार तथा गायक जगतमर्दन थापा, वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथा नेपालमा निर्मित पहिलो चलचित्रकी नायिका भुवन चन्द, वरिष्ठ साहित्यकार तथा नारायणगोपाल सङ्गीतकोषकी अध्यक्ष उषा शेरचन, कामनपा वडा न. ३ का अध्यक्ष दीपक केसी, वरिष्ठ सङ्गीतकार तथा गीतकार दीपक जंगम, वरिष्ठ सङ्गीतकार राजु सिंह लगायतले सो एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए । 

विमोचित एल्बम सुनौलो तारामा ‘ए हावा, फुलेको केश, छड्के नजर, विश्वासको दियो, मायाको घर, लुकीलुकी, आँखै आँखा, मेरो नेपाल र आऊ सङ्गी’ गरी नौंवटा गीत रहेका छन् । एल्बममा दीपक जंगम, वसन्त सापकोटा, कल्याण सिंह, दीपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का र रमेश कडरियाको सङ्गीत तथा स्वरुपराज आचार्य, अञ्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ र निकेश राईको स्वर रहेको छ । यसअघि तारा अधिकारीको सपना शीर्षकको एल्बम सार्वजनिक भएको थियो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई गीतहरु पनि समावेश गरिएका छन् ।

एल्बम बिमोचन समारोहमा फुलेको केश लुकीलुकी  बोलका दुई गीतको भिडियो पनि प्रदर्शन थियो । फुलेको केश भिडियो रमेश थापाले निर्देशन गरेका हुन् भने भिडियोमा दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बाल कलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको यस भिडियोमा नकुल खड्काको सम्पादन रहेको छ । यसैगरी दोस्रो भिडियो लुकीलुकी राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन र शिलन लम्सालको सम्पादनमा निर्माण भएको हो भने भिडियोमा नाजिर हुसेन र एलिशा राईको प्रमुख भूमिका रहेको छ । दुबै भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल Sunaulo Tara मा अपलोड गरिएको छ ।