बृहत् साँस्कृतिक कार्यक्रम सहित स्वास्थ्य शिविरको आयोजना हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, ललितपुरले स्वास्थ्य शिविर, रक्तदान तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कार्यक्रम आगामी फागुन १७ गते शनिबार ललितपुरस्थित जावलाखेलको खेल मैदानमा आयोजना हुने कुरा थाहा भएको छ ।

‘हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ स्थापित ललितपुर समितिले विशेषज्ञ डाक्टरहरुद्वारा कलाकारहरुको नाक, कान र घाँटीको समेत जाँच गराउने कुरा आयोजक संस्थाले जानकारी गराएको छ । सो स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा अल्का अस्पताल प्रा.लि. ले डाक्टर तथा चिकित्सकहरु उपलब्ध गराई सहयोग गर्ने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति, ललितपुर आयोजक रहने सो कार्यक्रममा उपत्यका समन्वय समिति अन्तर्गतका ९ वटै समितिहरु सहआयोजकको रुपमा रहने कुरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ललितपुर समितिका अध्यक्ष सुजन बराईलीले जानकारी दिए ।