गीतकार सङ्घद्वारा कवि/गीतकार पवन चाम्लिङ अभिनन्दित

  • तुलसी गिरी ‘भावुक’

    गीतकार सङ्घ नेपालले सिक्किमका पूर्व मुख्य मन्त्री पवन चाम्लिङ ‘किरण’ लाई अभिनन्दन गरेको छ l माघ २ गते बिहीबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सङ्घले कवि तथा गीतकार चाम्लिङलाई अभिनन्दन गरेको हो l नेपाली गीत – सङ्गीत तथा भाषा – साहित्यको उत्थानमा उल्लेख्य योगदान पुर्याएवापत त्यसको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको कुरा सङ्घले जानकारी गराएको छ l सङ्घका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षता एवं अग्रज गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो अभिनन्दन समारोहमा अग्रज गीतकारहरु यादव खरेल, राजेन्द्र थापा, एस्. पी. कोईराला, अग्रज गायक प्रेमध्वज प्रधान, कुमार बस्नेत, अग्रज सङ्गीतकार दीपक जंगम लगायत वरिष्ठ गीतकार, सङ्गीतकार, गायक – गायिका आदिको उपस्थिति रहेको थियो l

समारोहलाई सम्वोधन गर्दै सङ्घका अध्यक्ष चूडामणि देवकोटाले नेपाली भाषा र साहित्यलाई औधी माया गर्ने कुशल कवि एवं गीतकार तथा लोकप्रिय राजनीतिज्ञ पवन चाम्लिङलाई अभिनन्दन गर्न पाउँदा गौरवान्वित भएको कुरा बताउनुभयो l भूगोल फरक भएपनि भाषा र साहित्यले सबै नेपालीहरुलाई जोड्ने काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो- ‘नेपाली भाषाको उन्नयन गर्ने उद्देश्यले सबैभन्दा पहिलो संस्था नेपाल बाहिर नै स्थापना भएको थियो l नेपाली भाषाको पहिलो उपन्यास ‘भ्रमर’ पनि दार्जेलिङबाट प्रकाशित भएको थियो l’  

यसैगरी अग्रज गीतकार यादव खरेलले चाम्लिङलाई अभिनन्दन गर्दा गीतकार सङ्घ आफैं पुरस्कृत भएको विचार राख्नुभयो l पवन चाम्लिङको जति प्रशंसा गरेपनि कम हुने धारणा राख्दै उहाँले भन्नुभयो –’वेलफेयरको अवधारणा लागू गरेर राज्यलाई नै रुपान्तरण गर्नुभएका बहुआयामिक व्यक्ति पवन चाम्लिङले नेपाली भाषा र संस्कृतिको संरक्षणमा जति गर्नुभयो अत्यन्तै प्रशंसनीय छ l’ खरेलले आफूले निर्माण गरेको चलचित्र ‘भानुभक्त’ लिएर सिक्किम जाँदाका मीठा स्मरणहरु पनि समारोहलाई सुनाउनुभएको थियो l  

सङ्घका सल्लाहकार तथा वरिष्ठ गीतकार एस्पी कोईरालाले भारतीय ईतिहासमै सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री भई सबैको मन जित्न सफल विकाशप्रेमी र लोकप्रिय नेता भन्दै अभिनन्दित गीतकार चाम्लिङको प्रशंसा गर्नुभएको थियो l ‘कुशल र सिद्धहस्त कवि एवं गीतकार चाम्लिङलाई अभिनन्दन गर्न पाउँदा गीतकार सङ्घ परिवार हर्षित भएको छ’ उहाँले भन्नुभयो l  

समारोहमा पवन चाम्लिङले यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा धेरै पटक आफू सम्मानित – अभिनन्दित भईसकेको स्मरण गर्दै भन्नुभयो –’तपाईंहरू जस्ता सर्जकहरुमाझ सम्मानित हुन र यसरी बोल्न पाउनुलाई यो जुनीमा मैले सबैभन्दा ठूलो पुरस्कार पाएको अनुभव गरेको छु l मलाई आज न्यानो महसुस भएको छ र गर्वको अनुभूति गरिरहेको छु l’ सिक्किमका बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो- ‘सिक्किममा बेघर र २ छाक खान नपुग्ने कोही छैन l स्कूल र कलेज पढ्नबाट बञ्चित कोही छैन, सबै नि:शुल्क छ l एकदिन सबैले मर्नैपर्छ तर उपचार नपाएर मर्ने बिरामी कोही छैन l पानीको धारा र बिजुली नपुगेको घर र सडक नपुगेको गाउँ – बस्ती छैन l ६० बर्ष काटेका सबैलाई र ४५ काटेका अबिबाहित महिलाहरुलाई भत्ताको व्यवस्था गरिएको छ l सिक्किम भारतकै पहिलो गरिबीमुक्त र एशियाकै पहिलो वेलफेयर राज्य हो l राज्यले जातीय भेदभाव गरेको छैन, मानवीयकरण गरेको छ l’

प्रजातन्त्रमा समान हक, समान जिम्मेवारी र समान अवसर भए मात्र मुलुकमा उन्नति हुने कुरा समेत चाम्लिङले बताउनुभयो l ‘म राष्ट्रियताले भारतीय भएपनि भाषाले नेपाली हुँ’ चाम्लिङले भन्नुभयो l सन् १९९४ मा पहिलोपटक सिक्किमको मुख्यमन्त्री बन्नुभएका पवन चाम्लिङ ‘किरण’ ले लागातार २५ बर्षसम्म मुख्य मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो l जसलाई भारतको मात्र नभएर संसारकै दुर्लभ घटनाको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l  

कार्यक्रम सङ्घकी सचिव सुशीला पौडेलले संचालन गर्नुभएको थियो l