प्रधान सेनापतिद्वारा एल्बम सार्वजनिक

गीतकार सिन्धु राणाको १३ औं गीति एल्बम ‘मायाको’ सार्वजनिक भएको छ । गत शनिबार आर्मी अफिसर्स क्लबको सभाहलमा आयोजित कार्यक्रममा सो एल्बम लोकार्पण गरिएको हो । पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबरा, वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा लगायतले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जूनलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका १० वटा गीत रहेका छन्। गीतकार सिन्धुको एकल एल्बम भनिए पनि सङ्ग्रहित गीत मध्ये ‘मायाको’ र ‘न्यानो घाम’ बोलका दुईगीत पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबराले रचना गरेका हुन् ।

एल्बममा रामकृष्ण ढकाल, विश्व नेपाली, सपनाश्री, मिलन अमात्य, आनन्द कार्की, सङ्गीता राना प्रधान, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको स्वर छ भने नरेन्द्र प्यासी, आशिष अविरल, हरि लम्साल, राजनराज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ र सचिन सिंहले सङ्गीत दिएका छन् । एल्बममा रहेका कूल गीत मध्ये ‘मायाको’ र ‘मेरी जूनलाई’ बोलका दुई गीतका भिडियो निर्माण भईसकेका छन्। प्रस्तुत एल्बम म्यूजिक नेपालको उत्पादन तथा बजार व्यवस्थापनमा सार्वजनिक भएको हो ।