मिथिलाकी परीको बढ्दो क्रेज, नेपाली भिडियोमा समेत खेल्ने चाहना

  • तुलसी गिरी ‘भावुक’

    मैथिली म्युजिक भिडियोबाट लोकप्रिय भएकी मोडल परी साहले आगामी फागुन महिनाबाट चलचित्रमा समेत अभिनय गर्ने भएकी छिन् l ‘फागुनदेखि २ महिनासम्म चलचित्रमा व्यस्त हुँदैछु’ परीले खुशी प्रकट गरिन् । ‘तन मन जलाबे रिमझिम’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी परीलाई पहिलो भिडियोमै दर्शकहरुले अत्याधिक रुचाएपछि मैथिली र भोजपुरी भिडियोमा उनलाई लगातार अफर आईरहेको छ l ‘तन मन जलाबे’ पछि उनले अहिलेसम्म ‘सबसे सुन्दर अपन गाम, आँहा मानु या नै मानु, अन्तिम भेट क लिय, चल न गाँजा पिएबो गे’ लगायत डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।

 सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ निवासी पिता महेन्द्र साह र माता शिवु कुमारी साहको कोखबाट जन्मिएकी १९ वर्षीय कलाकार परीले काठमाडौं र भारतको दिल्लीसम्म पुगेर नृत्य र अभिनय सम्बन्धी ज्ञान हासिल गरेकी छिन् भने मिथिलाको बिभिन्न ठाउँदेखि काठमाडौं र दिल्लीमा समेत स्टेज कार्यक्रमहरुमा उनले आफ्नो प्रस्तुति देखाइसकेकी छिन् ।


निकट भविष्यमा मिथिलाका चर्चित गीतकार सरोज मण्डलको एकल एल्बमको गीतका भिडियोमा व्यस्त रहने कुरा समेत परीले जानकारी गराइन् । पहिलो गीतबाटै रातारात चर्चामा आएकी परीले नेपाली आधुनिक तथा लोकदोहोरी भिडियोमा समेत अभिनय गर्ने ईच्छा भएको कुरा बताएकी छिन् ।