‘गीतकार सङ्घ नेपाल’ को दशौँ बार्षिक साधारण सभा सम्पन्न

  • तुलसी गिरी ‘भावुक’

    नेपालका समग्र गीतकारहरुको छाता संस्था ‘गीतकार सङ्घ नेपाल’ को दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ l सङ्घका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्व एवं सङ्घका सल्लाहकार समेत रहेका वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा पुष ११ गते शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा साधारण सभा सम्पन्न भएको हो l सभामा अग्रज गीतकारहरु राजेन्द्र थापा, जगतमर्दन थापा, एस्पी कोईराला, विश्वबल्लभ, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णु कुमारी फुँयाल { भट्टाराई }, अग्रज सङ्गीतकार शक्ति बल्लभ, विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्याय लगायत सङ्घका कार्यसमिति सदस्य, साधारण सदस्य, सङ्गीत क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ – संस्थाका पदाधिकारी एवं प्रतिनिधिका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो l सङ्घकी सचिव सुशीला पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा उपाध्यक्ष शुभ मुकारुङले अतिथिहरुको स्वागत गरेका थिए l कार्यक्रमलाई उद्घाटनसत्र र वन्दसत्र दुई चरणमा विभाजन गरिएको भएपनि समय नलम्बियोस् भनेर एउटा चरणको समापनपछि लगातार अर्को चरणको कार्यक्रम सम्पन्न गरिएको थियो l

सङ्घका कोषाध्यक्ष अमृतलाल सुनुवार देवकोटाले ०७५ साउन १ देखि ०७६ असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण सहितको आर्थिक प्रतिवेदन पेश गर्दै बैंकमा ३० लाख ६ हजार १ सय ६३ रुपैंया मौज्दात रहेको जानकारी गराएका थिए l प्रस्तुत प्रतिवेदनमा हालसम्म सङ्घको अक्षयकोषमा रू. २६ लाख जम्मा भईसकेको र त्यसलाई रू. १ करोड पुर्याउने लक्ष रहेको कुरा समेत उल्लेख गरिएको छ l

यसैगरी सङ्घका महासचिव वसन्त बित्यासी थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएका बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए l प्रतिवेदनमा सङ्घको भावी योजनाबारे समेत प्रकाश पारिएको थियो l जस अन्तर्गत आगामी फागुनको पहिलोसाता जनकपुरमा प्रदेश नम्बर २ स्तरीय ‘बृहत् स्रष्टाभेला’ गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला सङ्घ संस्था एवं मन्त्रालय र प्रज्ञा प्रतिष्ठानहरुसँग द्वैमासिक र त्रैमासिक रुपमा अन्तरक्रिया गरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा संस्थागत पहुँच विस्तार गर्ने, सङ्गीत बोर्डको स्थापनाको निमित्त पहल गर्ने, रेडियो तथा टेलिभिजनहरुसँग समन्वय / सहकार्य गरी गीतकारहरूलाई आम स्रोता/दर्शक समक्ष प्रस्तुत गर्नका लागि ‘गीतकार आफ्नै गीतमा’ नामक कार्यक्रम सञ्चालन गर्ने लगायतका कामहरु भईरहेको कुराहरु उल्लेख भएका छन् l

सङ्घको गतबर्ष सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले २ बर्षका लागि अध्यक्षमा चूडामणि देवकोटा, उपाध्यक्षमा शुभ मुकारुङ, महासचिवमा वसन्त वित्यासी थापा, सचिवमा सुशीला पौडेल, कोषाध्यक्षमा अमृतलाल सुनार देवकोटा र सदस्यहरुमा बालक गुरुङ, वसन्त थाम्सुहाङ, रमेश कोईराला, जे. बी. संयोगी, चन्द्रा चाम्लिङ र सुवास सङ्गम राईलाई निर्वाचित गरेको थियो l सङ्घमा हाल १ सय ४३ आजीवन र ३ सय ५७ साधारण गरी ५ सय सदस्य रहेका छन् l सङ्घले हरेकबर्ष ‘राष्ट्रिय स्रष्टा सम्मान’ नामक कार्यक्रमको आयोजना गरी नगद सहित एकजना अग्रज गीतकार लगायत डायस्पोरा गीतकार सम्मान, बर्षगीत पुरस्कार र बर्ष गीत पुस्तक पुरस्कार समेत प्रदान गर्दै आएको छ