त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई सम्मान गर्ने भएको छ । आगामी मङ्सिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने त्रिवेणी साङ्गीतिक साँझमा तीनै जनालाई सम्मान गरिने सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले जानकारी दिए
नगद १० हजार रुपैयाँसहितको त्रिवेणी सङ्गीत सम्मान तथा पुरस्कारबाट सम्मानित हुने अनुरागी २ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।बाग्लुङको भकुण्डेमा जन्मेका गायक, सङ्गीतकार, एरेन्जर र गीतकारको छवि बनाएका अनुरागीले पोखराबाटै आफ्नो साङ्गीतक यात्रा सुरु गरेका थिए । उनले सङ्गीत भरेका उडेर जून छुन्छु भन्थेँ…, गोर्खा पल्टन…, तिम्रै झल्को…, जहाँ तिमी त्यहाँ म…लगायत दर्जनौँ गीत चर्चित छन् । उनले ५०० भन्दा बढी गीतमा सङ्गीत, १०० भन्दा बढीमा गायन, १ हजार भन्दा बढीमा एरेन्ज गरेका छन् भने ‘तिम्रै झल्को’ नामक गीत सङ्ग्रह पनि प्रकाशन गरेका छन् ।
सोही पुरस्कारबाट सम्मानित हुने अर्का प्रतिभा खिमकुमारले ५० भन्दा बढी लोकगीत, भजन र गाउँका गीत गाएका छन् । उनको एउटा एकल एल्बम बजारमा आइसकेको छ भने एउटा एल्बम आउने तयारीमा छ । कास्कीकै सिक्लेसका गुरुङ सानैदेखि गायनमा लागे पनि औपचारिक रुपमा भने २०६२ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।
दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कारबाट सम्मानित हुने आरजु विष्ट ‘सल्यानी’ गीतकार तथा सञ्चारकर्मी हुन् । झ्याम्म झ्याम्म…लगायत दर्जनौँ गीत र गजलका स्रष्टा सल्यानी २ दशकभन्दा लामो समयदेखि साहित्य, सङ्गीत र सञ्चारकर्ममा क्रियाशील छन् । सङ्गीतकार दीपक भट्टराईको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि पनि रु. १० हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको छ ।
डेढ दशकदेखि पोखराको न्युरोडमा सङ्गीत प्रशिक्षण सञ्चालन गरिरहेको त्रिवेणी सङ्गीतालयले हरेका वर्ष त्रिवेणी साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पोखरा र काठमाडौँका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।