स्वरुपा र मेनुकाको स्वरमा होमस्टे प्रवर्धन गीत ‘बाग्लुङ भकुण्डे’

  – तुलसी गिरी ‘भावुक’

अतिथि सत्कार होमस्टे, बाग्लुङ, भकुण्डेको प्रस्तुतिमा बि. बि. अनुरागीको शब्द, सङ्गीत र म्युजिक एरेन्ज रहेको गीत ‘बाग्लुङ भकुण्डे’ को भिडियो सार्वजनिक भएको छ l बाग्लुङको रमणीय पर्यटकीयस्थल भकुण्डेको प्रचार – प्रसारका लागि निर्माण गरिएको यो गीतमा स्वरुपा रसाईली र मेनुका पौडेलले स्वर दिएका छन् l गीतको मिक्सिङ शुकराम रसाईलीले गरेका हुन् भने माष्टरिंङ श्यामश्वेत रसईलीको रहेको छ l
भकुण्डेको समग्र चित्रण गरिएको यस गीतमा त्यहाँको धार्मिकस्थल, प्राकृतिक सुन्दरता, ऐतिहासिक स्थल र होमस्टेका सेवा-सुविधा सम्बन्धी विषयमा सुन्दर ढङ्गमा वर्णन गरिएको छ भने शव्दपरक भिडियोले दर्शकको मन लोभ्याउँछ l गीतको कथात्मक शब्द र मिठासपूर्ण गायकीले हृदयमा शीतलताको सञ्चार त गर्छ नै भिडियो हेरिसकेपछि एकपटक भकुण्डेको होमस्टेप्रति पनि मन कल्पिन्छ l
जीवन सेन्चुरीको निर्देशन तथा सम्पादन र राहुल राईको छायाङ्कनमा निर्माण भएको यो भिडियोमा उत्सव, आयुष्मा र अनुपाले प्रमुख भूमिकामा नृत्य अभिनय गरेका छन् भने दर्जन भन्दा बढी कलाकारहरुको कोरस नृत्य रहेको छ l
भिडियो प्ले गरेपछि अन्तिमसम्म हेरिरहुँ लागिरहन्छ l शब्द, सङ्गीत र स्वरको मनमोहकता नै यस्तो छ, होमस्टे प्रमोशनको लागि निर्माण गरिएको गीत भन्ने कुरा गौण भएका छन् l यसअघि पर्यटन प्रबर्धनका लागि निर्माण भएका गीतहरुको पङ्क्तिमा यो गीत तथा भिडियो पनि अग्र लहरमा पक्कै पनि आउँछ l भिडियो बि. बि. अनुरागी नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

Video Link